देउवाले पौडेललाई भने : क्रियाशील सदस्यता छानविन हुन्छ, नाम दिनुस्

देउवाले पौडेललाई भने : क्रियाशील सदस्यता छानविन हुन्छ, नाम दिनुस्

नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि आज सभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेताहरू र पार्टी पदाधिकारीहरूलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाए।

झण्डै तीन घण्टा चलेको छलफल केही बेरअघि मात्रै सकियो। देउवाले पौडेल पक्षले भनेझैँ नै बैठकको एजेण्डा बनाएका थिए। १३ औँ महाधिवेशन सकिएलगत्तै गठन गर्नुपर्ने विभाग र समितिहरू अहिले आएर गठन गरेको भन्दै पौडेल समूहले विरोध गर्दै आइरहेको छ।

आजको बैठकमा तय गरेका एजेण्डाअनुरूप क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजानेलगायत विषयमा छलफल भयो। छलफल भएअनुसार नै अब बस्ने केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गर्नेछ। ‘आजको बैठकमा सभापतिज्यूले नै तय गर्नुभएको र अरू नेताहरूले भनेअनुसारकै क्रियाशील सदस्यता छानविन समिति गठन विषयमा केन्द्रित भयो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘यो कुरा अब बस्ने केन्द्रीय समितिमा पनि छलफल हुनेछ र सोही केन्द्रीय समितिको बैठकले छानविन समिति पनि गठन गर्ने छ।’

उनले आजको बैठकमा क्रियाशिल सदस्यता छानविन समिति गठन गर्नका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग नेताहरूको नाम पनि मागेका थिए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गरेको भन्दै आपत्ति जनाए। त्यस्तै उनले महाधिवेशनको मिति तोकिसकेपछि विस्तार गरेको विभागहरू खारेज गर्न पनि देउवालाई भने। ‘पार्टी एकलौटी तवरले चलाउनुभयो,’ पौडेललाई उदृत गर्दै बैठकमा सहभागी उनीनिकट एक नेताले भने, ‘पार्टीकै विभाग गठन र विस्तार गर्दा पार्टीकै नेतालाई थाहा नदिने पनि कहीँ हुन्छ?

४७ मध्ये २० विभाग प्रमुख देउवाले नियुक्त गरिसकेका छन् भन् चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा पनि गठन गरिसकेका छन्। पौडेलले प्रश्न गरेपछि देउवाले जवाफ दिँदै भने, ‘मैले विभाग र समितिमा सहमतिकै आधारमा नामहरू सिफारिस गर्ने सोच पनि बनाएको थिएँ। तपाईहरूलाई पनि भनेको थिएँ टेर्नु भएन। मैले सधैँ भन्ने गरेको छु सहमतिका साथ अगाडि बढौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *