आन्तरिक छलफलका लागि देउवाले बोलाए पौडेल पक्षका नेता

आन्तरिक छलफलका लागि देउवाले बोलाए पौडेल पक्षका नेता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ्न थालेपछि देउवाले नै रामचन्द्र पौडेल पक्षका नेताहरूसँग छलफल थालेका छन्। देउवाले आफ्नै निवास बूढानीलकण्ठमा छलफलका लागि नेताहरूलाई बोलाएका हुन्। अहिले दुवै पक्षका नेताहरूबीच छलफल चलिरहेको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार देउवा निवासमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, डा.मिनेन्द्र रिजाल लगायतका नेता पुगेका छन्। त्यस्तै कृष्ण प्रसाद सिटौला पनि देउवा निवास पुगिसकेका छन्।

देउवाले आफू पक्षका नेताहरु विमलेन्द्र निधि, विजय गच्छादार, पूर्णबहादुर खड्का, प्रकाशशरण, महत प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेताहरूलाई बोलाएका छन्। १३ औँ महाधिवेशन भएको २ महिना भित्र गठन गर्ने विभाग र समिति १४ औँ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा गठन गरेको, क्रियाशिल सदस्यता वितरण, नवीकरण गरेको भन्दै पौडेल पक्षले विरोध गर्दै आइरहेको छ।

पौडेल पक्षले नयाँ विस्तार भएका विभाग तथा समितिहरु खारेज गर्न पनि माग गरिरहेको छ। यो पक्षले देउवाले गठन गरेको विभाग विधान विपरित भएको पनि बताउँदै आएको छ। देउवाले विभाग संख्यासमेत बढाएर २० विभागमा प्रमुख तोकिसकेका छन्। गत असार २५ बाट सुरु भएको क्रियाशील सदस्यता वितरण र नवीकरणमा संस्थापन पक्षले पार्टी संरचनाभन्दा बाहिरबाट फारम पठाएको पौडेल पक्षले आरोप लगाउँदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *