नेपालको बिजुली निर्यातका लागि सहजीकरण गर्न भारत बंगलादेशलाइ तयार

नेपालको बिजुली निर्यातका लागि सहजीकरण गर्न भारत बंगलादेशलाइ  तयार
Share this

नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि सहजीकरण गर्न तयार रहेको भारतले जनाएको छ ।

केही समय पहिले ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले स्पष्टरुपमा नै नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताए ।

 

भारतको छिमेक नीतिसम्बन्धी नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘ऊर्जाको क्षेत्रीय व्यापार प्रबर्द्धनका लागि निर्यातसम्बन्धी केही कार्यविधि जारी गरेर छिमेकी मुलुकसँग ऊर्जाको आयात र निर्यातमा परिवर्तनकारी कदम चालिएको छ ।’

भारतले ऊर्जाको आयात र निर्यातसम्बन्धी केही हप्ता अगाडि कार्यविधि संशोधन गरेको थियो । तर, सो कार्यविधिमा भारतसँग सिमाना जोडिएको कुनै तेस्रो मुलुकले लगानी गरेका परियोजनाको बिजुलीका लागि भने सो सुविधा नदिने उल्लेख छ । सो प्रावधानले चिनियाँ लगानीलाई भने असर गर्ने देखिन्छ ।

उनका अनुसार सो कार्यविधिले ऊर्जाको आयात र निर्यात गर्न बाटोमात्र नखोली ऊर्जा पारवहनमा भारतले सहजीकरण गर्नेछ ।

भारतका छिमेकीहरुका लागि विद्युत व्यापारको विशाल बजार खुल्ला भएको समेत उनले बताएका छन् । श्रींगलाले भारतीय गि्रड नेपाल, भुटान र बंगलादेशसँग जोडिएको पनि बताएका छन् । उनले श्रीलंकासँग पनि गि्रड कनेक्सनको लागि गृहकार्य भइरहेको समेत जानकारी दिएका छन् ।

भारतीय भूमि हुँदै जानुपर्छ नेपालको बिजुली बंगलादेश निर्यातका लागि त्यसका लागि भारतले सहजीकरण गर्छ कि गर्दैन भन्नेमा नेपाल र बंगलादेश दुवै शशंकित छन् ।

ऊर्जाको उच्च माग भएको बंगलादेशले लामो समयदेखि भारतसँग सहजीकरणको लागि आग्रह गरिरहेको छ ।

भारत र बंगलादेश बीचमा हुने हरेक उच्चस्तरीय बैठकमा सो विषयले प्राथमिकता पाउने गरेको छ ।

पछिल्लो समयमा भारतका उच्च अधिकारीहरुबाट बिजुली निर्यातका लागि पारवहन सुविधा दिने प्रतिवद्धता आएको छ । यद्यपि यससम्बन्धी विस्तृत गृहकार्य भने बाँकी नै छ । यसका लागि निकट भविष्यमा नै ३ देशका उच्च अधिकारीहरुको बैठकको तयारीसमेत भइरहेको छ ।

भारतीय विदेश सचिवले नेपालमा निर्माणाधीन केही जलविद्युत आयोजनाहरुको नामसमेत लिएका छन् । उनले ९०० मेगावटको कणर्ाली जलविद्युत आयोजनाले उत्पादन गर्ने नेपालले भारत र बंगलादेशमा निर्यात गर्न सक्ने बताएका छन् ।

अहिले नेपाल र बंगलादेश दुवैले भारतबाट बिजुली किनिरहेका छन् । बंगलादेशले भारतबाट ११६० मेगावाट बिजुली किनिरहेको छ भने नेपालले अहिले ७०० मेगावाट बिजुली किनिरहेको छ ।

बिजुली निर्यातका लागि भारतले सहजीकरण गरेमा बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

केही वर्षयता नेपाल र बंगलादेश बीच डेडिकेटेड ट्रान्समिसन लाइन निर्माणको सम्बन्धमा कुराकानी भइरहेको छ । तर अहिलेको लागि भारतको सिलगुरी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ ।

 

अन्तिम अपडेट: 2021-March-16 समय 8:25 AM

78 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media