उपचाररत बाँकेका अस्पतालमा थप आठजना कोरोना संक्रमितको मृत्यु

उपचाररत बाँकेका अस्पतालमा थप आठजना कोरोना संक्रमितको मृत्यु

उपचाररत बाँकेको विभिन्न अस्पतालमा आठजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचजना पुरूष र तीनजना महिला रहेका छन्। भेरी अस्पतालमा उपचाररत पाँच र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-२ की ३७ महिला रहेकी छन्। नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार दिउँसो साढे ३ बजे मृत्यु भएको हो। वैशाख १८ मा संक्रमण पुष्टि भएको उनी वैशाख ३० मा अस्पताल भर्ना भएको थिइन्।

त्यस्तै‚ बाँकेको कोहलपुर नगरपालिका-४ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो। उनको शुक्रबार दिउँसो ४:२० बजे मृत्यु भएको हो। वैशाख २६ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए।

भेरी अस्पतालमै उपचारको क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका-१ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको हो। उनी वैशाख २१ मा अस्पताल भर्ना भएका थिए। ठाकुरबाबा-१ की ३४ वर्षीया महिलाको शुक्रबार राति करिब ३ बजे भेरी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ। वैशाख २२ मा संक्रमण पुष्टि भएपछि उनी २४ गते भर्ना भएको थिइन्।

बाँकेको कोहलपुर नगरपालिका-९ का ६१ वर्षीय पुरुषको शुक्रबार राति साढे ७ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। ती पुरूषमा वैशाख १५ गते कोरोना पुष्टि भएको थियो। वैशाख २१ मा अस्पताल भर्ना भएका थिए।

यस्तै, नेपालगञ्ज उपमहानगरपालिका-१९ का ३९ वर्षीय पुरुषको शुक्रबार राति साढे ८ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। वैशाख ३० मा संक्रमण पुष्टि भएका ती पुरूष सोही दिन अस्पताल भर्ना भएका थिए।

यस्तै‚ सल्यानको वनगाड कुपिन्डे-४ की ६० वर्षीया महिलाको शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। वैशाख १२ मा संक्रमण पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्।

बर्दियाको गलरिया नगरपालिका-१० का ६० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान पौने ५ बजे मृत्यु भएको छ। वैशाख २५ मा कोरोना संक्रमण भएका ती पुरूष वैशाख २७ मा अस्पताल भर्ना भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *