बाँदरमुढे घटना : पीडित भन्छन्, ‘आश्वासन मात्र पाइयाे, समस्या उस्तै छ’

बाँदरमुढे घटना : पीडित भन्छन्, ‘आश्वासन मात्र पाइयाे, समस्या उस्तै छ’
Share this

सोह्र वर्षअघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरूले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुवाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए ।

घटनास्थलमा ३९ जनाको ज्यान गएकाे थियाे भने उपचारका क्रममा थप तीन जनाको ज्यान गएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो ।

लामो समय बितिसक्दा पनि आफूहरूले न्याय पाउन नसकेको पीडितहरूको गुनासो छ । माडी नगरपालिका–९  गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित त्यही दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा उहाँको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । विकले भन्नुभयो, ‘हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ ।’

बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उहाँको गुनासो छ । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउनुहुन्छ । त्यही घटनाकै कारण ६ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइ छ । यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उहाँले गुनासो गर्नुभयो ।

गएको प्रतिनिधि सभाको चुनावमा त्यही क्षेत्रबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उहाँको भनाइ छ । सत्यसहित न्याय र परिपूरणको व्यवस्था हुनु पर्ने, दोषी दोषअनुसारको भागीदार हुनुपर्ने जस्ता माग पीडितको छ । त्यही घटनामा घाइते अधिकारीले चार वर्ष वैशाखीको सहारामा जीवन बिताउनुभएको थियो । उहाँकाे दुवै खुट्टा र ढाड भाँचिएको थियो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई माडीमा हुने उपचारमा निःशुल्क गरिएको, एक परिवारलाई एक लाखका रुपैयाँका दरले दिने निर्णयअनुसार ३५ परिवारलाई राहत वितरण गरिएको र बाँकी २५ परिवारलाई यसै आर्थिक वर्षमा वितरण गरिने उहाँले बताउनुभयो । नगरपालिकामा ६४ परिवारले त्याे घटनामा पीडित भएको भन्दै नाम दर्ता गराएका छन् ।

वाग्मती प्रदेश सरकारको सहयोगमा बाँदरमुढे घटनास्थलमा पार्क निर्माणको काम अघि बढेको छ । उहाँका अनुसार यस वर्ष ४० लाख रुपैयाँकाे लागतमा कम्पाउन्ड गरिँदै छ । यस पार्कमा मृतकका अर्धकदका शालिक, बाल उद्यान, बगैँचालगायतका संरचना बन्ने छन् । दुई विघा आठ कठ्ठा जमिनमा आठ करोड रुपैयाँ खर्च गरेर पार्क निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यस घटनाको सम्झनामा आज बिहान स्मृति दिवस मनाइएको छ । पीडित परिवारले घटनास्थलको स्मारकमा दीप प्रज्वलन गरेर मृतकको सम्झना गरेका हुन् ।

अन्तिम अपडेट: 2021-June-06 समय 3:04 PM

182 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com