पश्चिम बंगालमा चट्याङ लागेर २३ को मृत्यु, आगलागीमा १८ ले ज्यान गुमाए

पश्चिम बंगालमा चट्याङ लागेर २३ को मृत्यु,  आगलागीमा १८ ले ज्यान गुमाए
Share this

एकैदिन २३ जनाको भारतको पश्चिम बंगालमा चट्याङ लागेर ज्यान गएको छ । सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। सरकारी तथ्यांकको अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको छ ।

यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन् ।

राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार ज्यान जानेमा हुग्लीका १० जना, मुर्शिदाबादका नौ जना, हावडामा दुई र पश्चिम मेदिनीपुर जिल्लामा दुई जना रहेका छन् ।

त्यस्तै, महाराष्ट्रको पुनेमा एक केमिकल कारखानामा भएको आगलागीमा १८ जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै मजदुर रहेको बीबीसीले जनाएको छ ।
पुनेको घटनामा पनि ज्यान गुमाएका कर्मचारीका परिवारलाई २ लाख क्षतिपूर्ति र घाइतेलाई ५० हजार रूपैयाँ दिने घोषणा प्रधानमन्त्री मोदीले गरेका छन् । यस कारखाना पुणेको घोटावाडे फाटा क्षेत्रमा अवस्थित छ।

अन्तिम अपडेट: 2021-June-08 समय 9:07 AM

76 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media