नेपाललाई खोपसहित स्वास्थ्य सामग्री सहयोग गर्न बेलायतका १६ सांसदद्वारा आग्रह

नेपाललाई खोपसहित स्वास्थ्य सामग्री सहयोग गर्न बेलायतका १६ सांसदद्वारा आग्रह

नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री तुरुन्तै सहयोग गर्न बेलायतका १६ सांसदलेआफ्नो सरकारसँग आग्रह गरेका छन् ।

नेपालमा कोरोनाको संक्रमण बढीरहेकाे भन्दै खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न उनीहरुले आग्रह गरेका हुन् । १६ सांसदको तर्फबाट क्रिस्टी ब्ल्याकमेनले विदेशमन्त्री डोमिनिक राबलाई लेखेको पत्रमा नेपालमा तत्काल कोरोनाविरुद्धको खोप, अक्सिजन जेनेरेटर्स्, कन्सन्ट्रेटर लगायत अत्यावश्यक मेडिकल सामग्रीको सहयोग गर्न भनिएको छ ।

यस स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप नभइ विश्वका लागि नै जोखिम भएको भन्दै सांसदहरुले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले नेपालमा संक्रमित भएकामध्ये ९७ प्रतिशतमा भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो द्रुत गतिमा फैलिँदै गएको पनि बताएका छन् । तर, नेपालमा कमजोर स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएकाले रोकथाम तथा उपचार प्रभावित भएको भन्दै तत्काल सहायता गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले मात्रै कोरोनाविरुद्धको पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ । यस्तै, उनीहरुले एक हप्ता भित्रै नेपाललाई खोप आपूर्तिका लागि ताकेता दिँदै हस्ताक्षर गर्नेको संख्या १० हजार पुगेको पनि पनि बताएका छन् ।

त्यस्तै, सयुंक्त राष्ट्रसंघले पनि दुई हप्ता अघि नेपालमा कोराेनाको नियन्त्रणका लागि आठ करोड ३७ लाख अमेरिकी डलर आवश्यक पर्ने घोषणा गरेको बारे पनि उनीहरुले स्मरण गराएका छन् । नेपालका गोर्खालीहरुले बेलायतलाई धेरै सहयोग गरेको र नेपालसँग बेलायतको लामो समयदेखिको मित्रताका कारण पनि बेलायतले नेपाललाई तत्काल सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिइएको छ । नेपाल सरकारले सहयोगको माग गरे पनि किन आपत्कालीन रुपमा सहयोग हुन सकेन भनेर उनीहरुले प्रश्न पनि गरेका छन् । १६ जना सांसदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ –अप्ठेरो अवस्थामा भारतलाई निकै सहयोग गरे पनि त्यही भाइरसको भेरियन्टका कारण समस्यामा परेको नेपाललाई किन सहयोग गरेनौँ ? नेपाललाई सहयोगको तुरुन्तै आवश्यकता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *