लाइसेन्सको ट्रायल यहि आउदो साउनको अन्तिम हप्तादेखि खुलाउने तयारी

लाइसेन्सको ट्रायल यहि आउदो साउनको अन्तिम हप्तादेखि  खुलाउने तयारी
Share this

असल खबर – यातायात व्यवस्था विभागले यही आउदो महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारीमा रहेको छ ।
विद्यालय तथा विश्वविद्यालय लगायतको परीक्षा सुरु भएसगै विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिनुभयो । गतवर्षको लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।
अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले हाल अनलाइन आवेदन पनि बन्द गरेको छ । ट्रायल परीक्षाको टुङ्गो लागेपछि फेरि अनलाइन आवेदन खुलाउने तयारी गरिएको विभागले जनाएको छ ।
ट्रायल परीक्षा खुलेपछि नयाँ व्यवस्था लागू गर्ने विभागको तयारी छ । अहिले विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अङ्क ल्याए मात्रै पास हुने व्यवस्थामा परिमार्जन गरेर ७० प्रतिशत अङ्क ल्याए पास हुने निर्णय यसअघि नै भइसकेको छ ।
नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइने व्यवस्था छ ।

अन्तिम अपडेट: 2021-August-02 समय 9:19 AM

16 पटक पढिएको
Share this