तिज विशेष : सासूबुहारीको कोपिला जुहारी- श्रीकृष्ण शर्मा

तिज विशेष : सासूबुहारीको कोपिला जुहारी- श्रीकृष्ण शर्मा
Share this

सासूबुहारीको कोपिला जुहारी
एक डाली दोहोरी कोपिला

कोपिला १
बुहारी
माइत जानी हो सासू माइत जानी हो
पोहोर पनि जान पाइनँ यसपलि त जानै पर्छ
आमाले पकाएको दर खानी हो ।
सासू  
साह्रै भइस् मुखाले ऐले के गर्नु
पाहुनापाछा बुझाउने को भातभान्सा गर्नेछ को ?
थाहै छैन संस्कार मैले के गर्नु ?

  कोपिला २
बुहारी
तीज आयो है सासू तीज आयो है
बिदा दिनू मलाई त आत्यास धेरै लाछ अचेल
माइत जान अति नै मन लायो है ।
सासू
हिँड्न हुन्न कोरोना सर्छ बरिलै
तँलाई माइत पठाएर म तरुनी बन्नु पर्ने
घरको काम कसले गर्छ बरिलै ?

  कोपिला ३
बुहारी
बरु  सबै काम आजै गर्छु बरिलै
डाँडामाथि जून भए बूढा बाबाआमा मेरा
माइत जान नपाए मर्छु बरिलै ।
सासू
छोरालाई यी कुरा लाउनै पर्दैन
को हुँदैन वृद्ध अब तीन बिस काटेपछि
त्यसै गाइस् भने घर आउनै पर्दैन ।

 कोपिला ४
बुहारी
दिनु कहर दिएकी सासू बजैले
वर्ष दिनको तीजमा पनि कति रोर्ई बस्नु सधैँ
बिदा नदिए नि म जान्छु मजैले ।
सासू
जिउमा घाम परेसी उठ्छेस् बजिनी
तँलाईँ केमा कम्ती भो र माइतै जान पर्यो अब
घिउभात खाई थालमै चुठ्छेस् बजिनी ।

कोपिला ५
बुहारी 
पुगे भात खा भन्छ्यौ सासू बजैले
कसले देख्छ मेरो बेथा कसले सुन्छ मेरा कुरा
पिएकी छु दिनरात आँसु मजैले ।
सासू
नछोइनू क्वैसँग तर्की आइज
मैले जस्तै बाटोतिरै हेरेकी होलिन् आमाले
दुबै दिन बसेर फर्की आइज ।

                   लेखक : श्रीकृष्ण शर्मा पोखरा

अन्तिम अपडेट: 2021-September-07 समय 8:41 AM

72 पटक पढिएको
Share this