इजरायलमा जाने रोजगारीका लागि आज भाषा परीक्षा हुँदैछ

इजरायलमा जाने रोजगारीका लागि आज भाषा परीक्षा  हुँदैछ
Share this

असल खबर– इजरायलको रोजगारीमा जान चाहने इच्छुक नेपालीका लागि आज भाषा परीक्षा हुँदैछ ।
भाषा परीक्षाका लागि ११ वटा केन्द्र काठमाण्डौमा तोकिएका छन् । ११ ठाउँका १६ परीक्षा केन्द्रमा दिउँसो १ बजे भाषा परीक्षामा ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ महिला रहने वैदेशिक रोजगार विभागले जनाएको छ ।
परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका छन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षा हुन लागेको हो ।
रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिन लागेका हुन् । भाषा परीक्षा सुरु हुनु ३ घण्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।
वैदेशिक रोजगार विभागले २ दिनभित्र कम्प्युटरको माध्यमबाट परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । प्रश्नपत्र कम्प्युटर प्रणालीबाट गरिने भएकाले शङ्का गर्नुपर्ने ठाउँ नभएको विभागले जनाएको छ । भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।

अन्तिम अपडेट: 2021-September-13 समय 8:51 AM

31 पटक पढिएको
Share this