बाग्लुङ कालिका भगवती मन्दिर भक्तजनका लागि खुला

बाग्लुङ कालिका भगवती मन्दिर भक्तजनका लागि खुला
Share this

असल खबर – कोभिड–१९ को संक्रमण दर कम भएपछि बाग्लुङमा रहेको बाग्लुङ कालिका भगवती मन्दिरमा पूजाआजा गर्न सर्वसाधरणका लागि खुला गरिएको छ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलचित्र हल समेत खुलाउन सक्ने निर्णय गरेकाले संक्रमणको दोस्रो लहर सुरु भएसँगै बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। प्रजिअ कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले ऐतिहासिक पवित्र धार्मिक स्थल बाग्लुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय स्थल पनि खुला गर्ने निर्णय गरेको हो।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले मन्दिर खुले पनि एकै पटक भिडभाड गरेर पूजाआजा गर्न नदिने बताए। मन्दिरमा दर्शनका लागि पुगेकाहरूलाई सामाजिक दूरी कायम गराउँदै पालोमा राखेर पूजाआजा गर्न लगाउने र मास्क, स्यानिटाइजर लगायतका सुरक्षा अनिवार्य गरेर मात्र मन्दिरमा जान दिइने बताए।

साभार : थाहा खबर

अन्तिम अपडेट: 2021-September-13 समय 4:15 PM

21 पटक पढिएको
Share this