आजदेखि जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम सुरु

आजदेखि जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम सुरु
Share this

असल खबर-आजदेखि जनगणना अन्तर्गत पहिलो चरणको काम सुरु हुँदैछ । पहिलो चरणमा १२ औं जनगणनाको आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
सूचीकरणका लागि देशभर करिब ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यस भन्दा अघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार, तला तथा संख्या, पालिएका गाईबस्तुको संख्या समेत लिइनेछ ।
घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएको लगायतका विवरण समेत समेटिने उपमहानिर्देशक रेग्मीले बताउनुभयो । सूचीकरणको काम यहि आउँदो असोज १८ गतेभित्र सक्ने तयारी छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

अन्तिम अपडेट: 2021-September-15 समय 9:31 AM

35 पटक पढिएको
Share this