आज कांग्रेस काठमाडौंको वडा अधिवेशन हुदै

आज कांग्रेस काठमाडौंको वडा अधिवेशन हुदै
Share this

असल खबर-आज नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र तथा क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।
यद्दपी क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि फेरी विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।
कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लालाई पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।
काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु छन् ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आˆनो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

अन्तिम अपडेट: 2021-September-21 समय 8:40 AM

70 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media