अब फरक किसिमले दर्शकमाझ आउँछु अनमोल केसीले बताए

अब फरक किसिमले दर्शकमाझ आउँछु अनमोल केसीले बताए
Share this

असल खबर-झन्डै डेढ बर्षपछि मिडियासामु उपस्थित भएका नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब भने आफूलाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन् । आफ्नो पिता भुवन केसीको जन्मदिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले मिडियासँग कुरा गर्दै पर्दामा चकलेटीको भूमिका धेरै भएको भन्दै अब दर्शकसामु नयाँ ढंगले प्रस्तुत हुने बताए ।
अनमोलले मल्टिस्टारर चलचित्र ‘एक्स ९’मा काम गर्ने तयारी गर्दैछन् । यसका लागि अनमोलले आफ्नो शरीर समेत बनाइरहेका छन् । यस चलचित्रका लागि अनमोललाई २० केजी मोटाउनुपर्नेछ । अनमोलका अनुसार, उनी ७ केजी मोटाएर ८२ केजी पुगिसकेका छन् । अझै, १३ केजी मोटाउनुपर्ने अनमोलको भनाई छ ।
मल्टिस्टारर चलचित्रमा काम गर्न लागेको बिषयमा अनमोलले भने ‘मैले कहिल्यै पनि मल्टिस्टारर चलचित्रमा काम गर्नु हुँदैन भनेर भनेको छैन । ‘गाजलु’ पनि मल्टिस्टारर नै थियो । कोभिडपछिको चलचित्र क्षेत्रलाई उठाउनका लागि सबै कलाकार मिलेर काम गर्दा नयाँ केही आउँछ कि भनेर मैले यो क्षेत्रमा काम गरेको हुँ । साथै, सिनियर दाइहरुबाट पनि केही सिक्नेछु भन्ने अपेक्षा छ ।
अनमोलले, दर्शक र चलचित्र क्षेत्रका लागि नै सबै मिलेर काम गर्दा केही राम्रो हुन्छ कि भन्ने सोचेर काम गर्न लागेको बताए । उनले, राम्रो चलचित्र रिलिज भएपछि हलमा दर्शक आउने दाबी समेत गरे । भने–‘यसमा सबैको समर्थन चाहिन्छ । मुख्यतः दर्शकको साथ चाहिन्छ । राम्रो चलचित्र आयो भने दर्शक हलसम्म आउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
अनमोलले डेढ बर्षमा आफूले मिडिया, लाइमलाइट, सुटिङको माहोल, दर्शकसँगको भेटघाट मिस गरेको समेत सुनाए । लकडाउन अगाडि आफूलाई सबैले भाई, जुनियर भनेर सम्बोधन गरेको भन्दै अनमोलले अब आफूलाई सिनियर तरिकाले प्रस्तुत हुन मन लागेको समेत बताए ।
चलचित्र ‘एक्स ९’मा बडी विल्डरहरुसँग फाइट खेल्नुपर्ने भएकाले पनि तौल बढाएर शरीर बनाइरहेको अनमोल बताउँछन् ।

अन्तिम अपडेट: 2021-September-21 समय 8:54 AM

97 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media