खाद्य संस्थानको लहान शाखामा धान खरिदमा ९७ लाख भ्रष्टाचार

खाद्य संस्थानको लहान शाखामा धान खरिदमा ९७ लाख भ्रष्टाचार
Share this

न्युज कारखाना, काठमाडौं, ५ असोज । नेपाल खाद्य संस्थान लहान शाखामा धान खरिदमा ९७ लाख बढी रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट कार्यालय प्रमुख र लेखा  अधिकृतले मिल संचालकसँग मिलेर धान खरिदमा ९७ लाख २ हजार ७ सय ८४ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको हो ।

२०७५ सालमा नियम विपरित ७० हजार क्विन्टल धान खरिद गर्दा कार्यालय प्रमुख गंगाप्रसाद साह र तत्कालीन लेखा प्रमुख सुनिताकुमारी यादवले मिल संचालकसँग मिलेर उक्त रकम भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।

कर्मचारीले कमिसन लिएर गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्दै अख्तियारमा उजुरी परेको उनले बताए । रिसालका अनुसार खरिद व्यवस्था निर्देशिका विपरीत भुक्तानी दिएर रकम हिनामिना गरेको खुलेको छ ।

अख्तियराले धान खरिदमा अनियमिता गर्ने कार्यालय प्रमुख साह र लेखा प्रमुख यादवविरुद्ध हिनामिना गरेको उक्त रकम असुल गर्न माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै कर्मचारीसँग धान बिक्री गर्दा मिलेमतो गर्ने निलकमल सेलर मिलका संचालक अशोककुमार अग्रवालविरुद्ध ७ लाख ५१ हजार १ सय ४३ तथा अर्का गिरधारी खाद्य उद्योगका संचालक लालुप्रसाद अग्रवालविरुद्ध  ५८ लाख ७५ हजार ६ सय १२ रुपैयाँ बिगो जफत हुन मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अन्तिम अपडेट: 2021-September-21 समय 12:02 PM

101 पटक पढिएको

लेखक

न्युज कारखाना

न्युज कारखाना
दशौवर्ष पत्रकारिता अनुभव बोकेका पत्रकारको समूह, देशभरका ७७ जिल्लामा जागरुक संवाददाता र विदेश र प्रवासमा समेत संवाददाता भएको एउटा समाचार र समाचारमूलक सामग्री उपलव्ध गराउने एजेन्सी हो ।

Share this
Powered By : Asal Sathi Media