देशैभरिबाट मौसम बाहिरिन अझै केही दिन लाग्ने

देशैभरिबाट मौसम बाहिरिन अझै केही दिन लाग्ने
Share this

असल खबर-मनसुन अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन भने अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ । यो लक्ष्यण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ ।
बिस्तारै अरु प्रदेशको मनसुन पनि बाहिरिँदै जाने उहाँले बताउनुभयो । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।
यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घर्किसकेपछि बल्ल विभिन्न प्रदेशको मनसुन बाहिरिने क्रम सुरु भएको छ ।
यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही पहाडी भेगमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका एक वा दुई ठाउँमा बेलुकातिर मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

अन्तिम अपडेट: 2021-October-09 समय 8:08 AM

119 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media