
इ-बुलेटिन, काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा उम्मेदवार स्थापितले बोल्नुभएको विषय आचारसंहिता प्रतिकूल भएको आयोगले जनाएको छ ।
आयोगद्वारा जारी पत्रमा भनिएको छ, ‘अनलाइन सञ्चारमाध्यममा सार्वजनिक भएको ‘यु आर नाइस लेडि तर तपाईंको थुतुनो ठीक छैन’ र ‘यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ’ वाक्यांशहरू र विषयसम्बद्ध अन्य समाचारहरूका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
उम्मेदवार स्थापितले बोलेको विषय निर्वाचन आचारसंहिता २०७८ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (च), (ठ) र (ढ) साथै दफा १२ को (द) अनुकूल नभएको आयोगले जनाएको छ । पत्रमा भनिएको छ, ।।।सो विषयमा आधार कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार अनुरोध छ ।’