पहिरोले गाउँ पुग्न गाह्रो, बलेवाली जनता फकाउन मेयरलाई अप्ठ्यारो - Asalkhabar
Logo

    पहिरोले गाउँ पुग्न गाह्रो, बलेवाली जनता फकाउन मेयरलाई अप्ठ्यारो

    पहिरोले गाउँ पुग्न गाह्रो, बलेवाली जनता फकाउन मेयरलाई अप्ठ्यारो असल खबर २०७९ बैशाख २४, शनिबार १४:१४ मा प्रकाशित

    माधव शर्मा, बाग्लुङ्ग  । गत असारमा बा. न.पा १० दब्ल्याङमा गएको ठूलो पहिरोले बाग्लुङ जिल्लादेखि दक्षिण क्षेत्र वलेवा हुदै जैमिनी नगरपालिका र बरेङ गाउपालिका जोड्ने प्रमुख सडक एवं कालिगण्डकी करिडोर बन्द भएको करिब चार महिनापछि खुलेको थियो ।

    विगतको समयमा विकासका पुर्वाधार भनेर शिक्षा, स्वास्थ, यातायात, खानेपानी र सिचाईलाई मानिएका थिए। वर्तमानमा संघिय सरकार र राज्यका संयन्त्रको विकास योजना अनुरुप विकासका पुर्वाधारको सूचीमा प्रसस्तै विषयवस्तु र योजनाहरु समेटिए पनि यो पहिरोले बागलुङका जनप्रतिनिधि र सरकार पुरानै पुर्वाधार पुर्ण गर्न समेत उदासिन देखिएको तथ्य सावित भएको छ। यो तथ्यले बागलुङ नगरपालिकाका निवर्तमान नेतृत्व पङ्तिमा रहेका सत्ता साझेदार जनप्रतिनिधि र विपक्षमा रहेका नेता कार्यकर्तालाई चुनौती बनेको छ।

    स्थानीय तह निर्वाचनका दृष्टिले हेर्दा पुराना पराजित नेताकार्यकर्तालाई बलेवाली जनता समक्ष विपक्षलाई दोष लगाई भोट माग्ने राम्रै एजेन्डा बन्ला। २०७४ सालको निर्वाचनमा राजनैतिक दलहरुको घोषणा पत्रमा हरेक वडा कार्यालयसम्म कालोपत्रे सहितको बाटो पुर्याई जनतालाई यातायात सेवाको पहुँचमा जोड्ने प्रतिबद्धता गरेका थिए । प्रतिबद्धता गरे अनुरुप बागलुङ नगरपालिकाका जनप्रतिनिधिले वडा कार्यालय सम्मै पिच बाटो पुर्याउने अभियान अन्तर्गत केही वडाको कार्यालय अगाडि कालोपत्रे र ढलान गरेता पनि बर्सेनि बगिरहने जिल्ला सदरमुकाम बागलुङको माल्ढुङादेखि कुस्मिशेरासम्मको ADB को अनुदान सहयोगमा निर्माण गरिएको उक्त सडक खण्डमा गएको एउटै पहिरोले कालीगण्डकी करिडोरको मुल र वैकल्पिक सडक सहित सदरमुकाम र दक्षिणी क्षेत्र जोड्ने दुई ओटै विकल्पहरु बन्द हुँदा त्यस क्षेत्रका बासिन्दाहरु पिडित बनेका थिए।

    लामो समयसम्म अवरुद्ध सडक खुलाउन बागलुङ नगरपालिकाले आवश्यक पहल नगर्दा बागलुङ जिल्लाका दक्षिणी क्षेत्रमा बसोवास गर्ने जनता सदरमुकाममा दैनन्दिन क्रियाकलापका लागि बजार आवजावत गर्न कठिनाइ पर्यो भने विरामीलाई अञ्चल अस्पतालसम्म ल्याउन समेत चर्को मूल्य तिरेर कुस्मा वलेवा केवलकार (यान्त्रिकपुल) तर्न बाध्य भएका थिए । भने बागलुङ नगरपालिकाका केही वडा सहित जिल्लाको सिङ्गो दक्षिणी भेगमै सडक सन्जाल विच्छेद भएको थियो। पहिरो नियन्त्रण र आगामी दिनमा जनतालाई सहज यातायात सुविधा उपलब्ध गराउने बारे जिम्मेवार निकायबाट कुनै पहल कदमी अगाडि सारिएको छैन् ।

    पहिरोका कारण बर्खाको समयमा क्षतविक्षत भएको जनजीवन के जनताले बिर्से होलान? नगरपालिकाले भाडा निर्धारण गरि सहज रुपमा नगरपालिकाभित्रका क्षेत्रमा यातायात सुविधा पुर्याउन सहजीकरण गर्नु त परै जाओस् । लाखौ रुपैया खर्चेर किनिएका गाडिहरु अवरुद्ध बाटोका कारण महिनौसम्म थन्क्याउनु परेको पीडा के जनताले बिर्से होलान्? कोरोना महामारीका बेला भोकभोकै घरभित्र बन्दी बन्नु परेको घटना के जनताले बिर्से होलान् ? बिरामी भएको बेला गाडी त परै जाओस् आफैले भोट दिएर जिताएका जनप्रतिनिधिको सिफारिसका अभावमा अस्पताल जानबाट बन्चित बनेका जनताले के भन्लान् ??? आदि इत्यादी विषयवस्तुले कुनै पनि पार्टी वा नेता, कुनै न कुनै ठाँउमा चुकेकै छन् ।

    यी र यस्ता प्रश्नहरूले भरिभराउ बलेवाका जनता बिच भोट माग्ने उमेदवारले सदरमुकाम नजिकैको मालढुङ्गाबाट स्पष्ट नियाल्न सकिने भिमकाय पहिरो तरेर पुग्नु पर्छ। जुन पहिरोले हिउद कै समयमा पनि सामान्य पानी पर्दा समेत बाटो अबरुद्ध हुन्छ । निर्वाचन कै कुरा गरौं वैशाखको अन्तिम साता मात्रै अहिलेको जत्तिको पानी परेमा पहिरो पुन: बग्नेछ । निर्वाचन अधिकृत र मत पत्र मतदान केन्द्र पुग्न र केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम पुर्याउन असम्भव प्राय: देखिन्छ।

    यदि बलेवाली जनताको इच्छाअनुसार प्रकृतिले साथ दिएमा २५ गतेबाट अविरल वर्षा होस्। फलस्वरुप बागलुङ सदरमुकामको सडक संजाल दक्षिणी भेगसङ्ग पहिलेको झै अबरुद्ध बनोस् तब मात्र स्थानीयस्तर देखि केन्द्रियस्तर सम्मका समाजसेवी नेताहरुको घैटोमा घाम लाग्नेछ । वर्षौ पहिलेबाट बग्न सुरु गरेको पहिरो २०७६ सालदेखी तिव्रगतिमा बग्न थालेको थियो । पहिरोका कारण बागलुङदेखि दक्षिणी भेगका जनताले अकल्पनीय सास्ती खेप्नु परेको सर्वविदितै थियो र छ पनि । वर्षौदेखी बगिरहेको पहिरोको समेत उचित व्यवस्थान र वैकल्पिक बाटोको खोजी नगरी पहिरो पुर्वका ठाउँहरुमा सडक विस्तार र कालोपत्रे गर्यौं भनेर जनतालाई भ्रमित पार्नु दुखद छ । जुन बाटोको मुल खण्ड अर्थात् दब्ल्याङ मै सडक अवरोध छ तर त्यस भन्दा दक्षिणमा रहेका वडा र पालिका कार्यालय नजिकका सडक खण्डमा टुक्रे कालोपत्रे र ढलान गर्दैमा के जनताले यातायात सुविधा पाएको अनुभव गर्लान् ? पहिरो नियन्त्रण गरि बगलुङ सदरमुकाम र जिल्लाका दक्षिणि क्षेत्रलाई सडक संजाल मार्फत नियमित जोड्ने प्रयास गरिएको भन्दै पहिरो प्रभावित क्षेत्रमा बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेश र स्थानिय तहका नेताकार्यकर्ताहरुले अवलोकन भ्रमण त गरे तर उचित पहल गर्न सकेनन् ।

    वैकल्पिक मार्गको रेखाङ्कन गर्ने भन्दै पटकपटक सामाजिक संजालमा फोटाहरु राखेको स्पष्ट देखियो तर पहिरो रोकथाम र नियन्त्रणमा आवश्यक पहल कदमी अझै पनि भएको छैन। सडक सन्जाल जोडेर नागरिकलाई सेवा सुविधा विस्तार गर्ने नाममा विभिन्न सञ्चार माध्यममा सुचनाहरु सम्प्रेषण गरिएता पनि अहिलेसम्म बाटो मर्मत र वैकल्पिक मार्गको रेखाङ्कन भएको छैन । स्थानिय निकायको चुनाव नजिकिदै गर्दा बागलुङ नगरपालिको मेयरका रुपमा उनै पुरानै जनप्रतिनिधि र उमेदवारहरुले मनोनयन दर्ता गरिरहदा केही नागरिकले पहिरोको अवरोध र आफुहरुले पाएको सास्ती सम्झिन थालेका छन् ।

    नयाँ उमेदवारले त म जनतालाई आवश्यक सेवासुविधा उपलब्ध गराउने छु भन्लान् तर पुरानै उमेदवार र कार्यकारी अधिकार सम्पन्न व्यक्तिले दिने जवाफ टिपोट योग्य रहला। स्थानिय सरकार जनता सापेक्षित हुन्छ भन्नू गलत थियो वा सहि पाँच वर्षे कार्यकाल व्यतित गरेका जनप्रतिनिधिलाई स्पष्ट जानकारी हुनुपर्छ र प्रतिपक्षमा रहेकाहरूले झनै महत्वपुर्ण दृष्टिले हेरेको हुनुपर्छ । तर यहाँ शासन सत्ता चलाएका जनप्रतिनिधि, प्रतिपक्षमा रहेका राजनैतिक नेताहरू र अन्य पालिकाका जनप्रतिनिधिहरु समेत निश्कृय रहेका छन् । सत्ता साझेदार मेयर उपमेरलाई मात्रै दोष लगाउनु तर्कसङ्गत र सान्दर्भिक नहुन सक्छ किनकी प्रभावित क्षेत्र बागलुङको दक्षिणी भेगमा रहेका वडा र पालिकाका जनप्रतिनिधिहरुले आवश्यक पहल नगर्नु पनि समस्या र कमजोरी हो । चुनावी नारा र घोषणा पत्र अनुरुप काम गर्नु संगठन र जनप्रतिनिधि स्वयंको कर्तव्य ठहर्छ। जनप्रतिनिधि र शासन सत्ता चलाई रहेका व्यक्तिलाई दबाब दिई विकास निर्माणका काममा लगाउनु, समाज र नागरिक सापेक्षित कामकार्य भए नभएको निर्क्योल गरि खबरदारी गर्नु, समुदाय र प्रतिपक्षमा रहेका नेता कार्यकर्ताको काम हो ।

    जस्ले समाजलाई विकासोन्मुख गति प्रदान गर्दछ भने भावी दिनहरुमा आफ्नो पक्षमा नागरिक उभ्याउने दरिलो अवसर पनि बन्छ । तर बागलुङ नगरपालिकामा यो क्रियाकलाप पटक्कै देखिदैन किनकि उक्त दब्ल्याङ्को पहिरोले अत्यन्तै मर्कामा परेका वलेवाका तीन वडा १२,१३,१४ र पालिकाका अन्य वडाहरु भकुण्डे र रायडाडाँ पर्दछन। हो यिनै वडाका वडाध्यक्षहरुले समयमै आफ्नो पालिकामा दबाब दिन सकेको भए जनताले तत्कालिन समयमा सास्ती त पाउदैनथे भने भावी दिनहरुमा पनि राहतको महसुस गर्थे तर वैकल्पिक मार्ग निर्माण र सामाजिक संजालमुखी अभियानले जनतालाई आस्वस्थ पार्नखोजेको र छलेको स्पष्ट देखिन्छ। भर्खरै मात्र कालीगण्डकी करिडोरको मालढुङ्गा नारायणस्थान (एर्पोट) सम्मको सडक कालोपत्रे गर्ने भनी बजेट पारित भए लगत्तै बागलुङमा सक्रिय रहेका दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादीका नेता कार्यकर्ताहरुले आफ्नो टाउकोमा जस लिनलाई दौडधुप गरेको छर्लङ्ग छ।

    काङ्ग्रेस कार्यकर्ताले आफ्नो सरकारले बजेट पारित गरेको, माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा पर्वतको भ्रमण पछि बलेवा क्षेत्रको विकासका लागि बजेट पठाएको, नेकपा एमालेका नेता कार्यकर्ताहरुले आफ्नो सरकार छदै यो योजना पास भएको कुरामा विश्वस्त थिए । यसरी शिर्ष तहमा रहेका नेताहरुले नै एउटै योजनालाई लिएर जसअपजस सहितको भ्रम कार्यकर्तामा छरी रहदा जनता अन्योलमा परेका छन ।

    नगरपालिकाको हकमा वर्षाको कारण अबरुद्ध बनेको सडक खुलाउन बाग्लुङ नगरपालिकाले जनश्रमदानसहित केही रकम विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो । तर तत्काललाई मर्मत गरिएता पनि बाटोको उचित व्यवस्थापन भने भएको छैन । बिना तार जालिको मर्मतले हिउँदमा धुलाम्मे सडकमा अन्धाधुन्ध गाडी गुडे पनि बर्खाको समयमा समस्या उहीँ दोहोरीने पक्का छ। यसरी आफ्नै नगरपालिका भित्रका मुल सडक अस्तव्यस्त भइ जनता अत्यावश्यक सेवाबाट बन्चित बनिरहदा जनप्रतिनिधिहरु मुकदर्शक बन्नु निन्दनीय छ। समस्या हुनै हुदैन भन्नू जनताको कमजोरी हो तर समस्याको समाधानमा जिम्मेवार निकाय नलाग्नु महान समस्या हो। बलेवा क्षेत्रलाई राजनैतिक दृष्टिले हेर्ने हो भने राजनैतिकरुपमा सक्रिय र कार्यकारी अधिकार सम्पन्न निकायमा रहेका शिर्ष नेताहरूको सूची संघ र प्रदेशमा बलियो देखिन्छ। तर आफ्नै क्षेत्रमा विकास गर्नु त परै जाओस आफ्नो घरसम्म पुग्ने बाटो सहज बनाउन पहल नगर्नु वलेवाली नेताहरुको कमजोरी हो । भने हाम्रा यहीँ ठाउँले जन्माएका नेताहरु यो मन्त्री र उ मन्त्री बन्यो भनेर प्रचारबाजी गर्नु बलेवाली जनताको भ्रम हो र ठाडो शिर लगाएर मेरो ठाउको नेता मन्त्री भएर देशको उच्च स्थानमा पुगेका छन देशको सेवा गरेका छन भन्न नपाउनु बिडम्बना हुन्छ। हाम्रा नेताहरुले समाज परिवर्तनका लागि हामी जुटिरहेका छौं ।

    विकास निर्माणका कामले तिव्र गति पाउनु पर्छ र पाउँछन् भनेर बलेवा मै उभिएर बलेवा कै पक्षमा उद्घोष गरिरहदा बलेवाली नेताहरूलाई उक्त दब्ल्याङ्को पहिरोले हिउँद बर्खा अत्याइ रहेको हुनुपर्ने हो तर राजनैतिक भागबन्डा र आन्तरिक खिचातानीले नेता आफै अन्योलमा छन् । स्थानिय निर्वाचन कै आडमा बलेवाली जनताको मुल एजेन्डा नियमित यातायात सुविधा भए त पहिरोको उचित नियन्त्रण सम्भव होला। नत्र भावी दिनहरुमा पनि अघिल्लो वर्ष कै अवस्थामा दयनिय दिन आउने छन । बलेवाली जनताका लागि जनप्रतिनिधि त उहीँ हो चुनाव र चुनावपछि विजयी उमेदवार आमसभा गर्न पुग्लान। अन्ततोगत्वा पहिरोको उचित नियन्त्रण सम्भव छैन ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु