
काठमाडौँ । गृहमन्त्री एवम् विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिनुभएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको १३ औँ बैठकमा मन्त्री खाणले मनसुनजन्य विपद्का घटनाहरूबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवम् साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना आजै लिखित रुपमा मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिनुभयो ।
बैठकमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना,२०७९ लगायतका एजेण्डामा विस्तृत छलफल भएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरूको आपत्कालीन सम्पर्क नम्बरहरू सर्वसाधारणसम्म पुग्ने गरी सञ्चार गर्न सुझाव दिनुभयो ।
त्यस्तै, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राख्नुभयो ।
मुख्यसचिव शंकरदास वैरागीले उद्धार र राहतमा तलदेखि माथि सम्मका निकायबीच समन्वय र रणनीतिक स्थानहरूमा पर्याप्त मात्रामा उपकरणहरूको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्व तयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।