
असल खबर। यूएईको दुबईमा आगामी भदौमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । दुबईको वर्ल्ड ट्रेड सेन्टरमा भदौ ५ गते नेपाल ईभ टुरिजम टुर हुन लागेको हो ।
ड्रिमहाई नेपालले आयोजना गर्न लागेको यस कार्यक्रममा अभिनेता राजेश हमालले समेत प्रस्तुति दिने भएका छन् भने अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, हास्य कलाकार सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, मोडल अञ्जली अधिकारी र नृत्यांगना तेरिया मगरको प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले संयोजन गरिरहेको छ । पर्यटन प्रवर्द्धनसँगै सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित पाँच हजार दर्शक अट्ने हलमा आयोजना हुने कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिता जनाउनेहरुका लागि यूएईका सबै राज्यबाट निःशुल्क बसको व्यवस्था गरिएको बताइएको छ । दुबईको कार्यक्रमपछि विश्वका अन्य केही मुलुकहरुमा पनि यही कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।