
असल खबर-नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’को दुई वटा नयाँ पोस्टर सार्वजनिक भएका छन्। सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म भदौ १० देखि प्रदर्शनमा आउने फिल्मको पोस्टरमा मुख्य कलाकारलाई देखाइएको छ।
फिल्मकी मुख्य कलाकार सृष्टि श्रेष्ठसहित सौगात मल्ल, दयाहाङ राई, दिव्य देव, खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ र निश्चल बस्नेत सार्वजनिक पोस्टरमा देखिएका छन्। यी बाहेक फिल्ममा पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा सहितका कलाकारको पनि अभिनय रहेको छ।
‘राधा’ सौगात मल्लको निर्माताको रुपमा डेब्यु फिल्म हो। फिल्मलाई सौगात र निर्देशक थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्। राधा थापाले आफ्नी आमाको सम्झनामा बनाएको फिल्म हो। यसअघि उनको निर्देशनमा बनेको फिल्म ‘सुनगाभा’ प्रदर्शनमा आइसकेको छ भने अर्को फिल्म ‘म’ साउन २० देखि प्रदर्शनमा आउँदैछ। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ।