Logo

    भवन भत्कँदा सोह्र जनाको मृत्यु

    भवन भत्कँदा सोह्र जनाको मृत्यु असल खबर २०७९ माघ ९, सोमबार १५:२३ मा प्रकाशित

    एजेन्सी । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ ।

    यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् ।

    प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो । सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ ।

    प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ । यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।

    एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् । सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

    गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले जनाएका थिए ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार