फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र

फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र

पोखरा, १० जेठ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आगामी जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ आयोजना हुने भएको छ। फेवा ढुङ्गा व्यवसायी संगठन, लेकसाइडको आयोजनामा पुरुष तथा महिला दुवै विधामा प्रतियोगिता हुन लागेको हो।

संगठनले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्देश्य, पुरस्कार र प्राविधिक तयारीबारे विस्तृत जानकारी गराएको छ। फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, जलयात्राका क्रममा हुन सक्ने भवितव्य घटनाबारे सचेतना जगाउने, तालको पर्यावरणीय महत्त्व बुझाउने र पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्रवर्द्धनमा हुने यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ फरक-फरक दूरी र मार्ग (रुट) निर्धारण गरिएको छ। जसअन्तर्गत पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्मको करिब ३ किलोमिटर दूरी र महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्मको करिब २ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइने छ।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फका विजेताहरूलाई समान पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ ३५ टिम र महिलातर्फ १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ। नियम अनुसार प्रत्येक प्रतिस्पर्धी टिममा तीन जना ढुङ्गा चालक रहने जनाइएको छ।

प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि फेवा ढुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ। यसका साथै तयारीलाई तीव्र पार्न विभिन्न उपसमितिहरू समेत क्रियाशील बनाइएको छ।

आयोजक संगठनले पोखराको पर्यटन र साहसिक खेलको विकासमा टेवा पुर्‍याउने यस कार्यक्रमलाई सफल पार्न आम सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूबाट सकारात्मक सहयोगको अपेक्षा राखेको छ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =