Home कला, विचार/मनोरञ्जन ‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति

‘परदेशी २’लाई दर्शकको साथ, शनिवार दर्शकको राम्रो उपस्थिति

0

काठमाडौं । चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरुले चलचित्रले घरी हँसाउँने, घरी रुवाउँने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् ।

शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ । दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने देखिएको छ । निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीमा उत्साहित रहेको बताउँछन् । ‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’ आइतवार पनि सार्वजनिक बिदा परेका कारण चलचित्रलाई फाइदा हुने देखिन्छ ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । त्यसक्रममा केही दर्शकहरु कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारहरु पनि उत्साहित र खुशी देखिएका छन् । कलाकारहरुले पनि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको बताए ।

चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version