Home कला, विचार/मनोरञ्जन गोलरक्षक एन्जिलाको कथामा बन्ने चलचित्र ‘अन्जिला’को छायाङ्कन सुरु

गोलरक्षक एन्जिलाको कथामा बन्ने चलचित्र ‘अन्जिला’को छायाङ्कन सुरु

0

काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ । मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायाङ्कन सुरु भएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।

यो चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दै छिन् । उनीसँगै चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ ।

एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई चलचित्रमा देखाइने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर चलचित्र बनाउन लागेको बताए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

एन्जिला चर्चित क्लोथिङ ब्रान्ड ली-निङको नेपालको पहिलो र विश्वको पाँचौँ ब्रान्ड एम्बासडर हुन् । साथै, उनी गोर्खा वाच र हन्ड्रेड स्पोर्टसको पनि पनि पहिलो ब्रान्ड एम्बासडर हुन् । नेपाली खेलाडीको नाम अङ्कित गरी पहिलो पटक टी-शर्ट, घडी (गोर्खा) र चप्पल (म्याजिक) बनेका छन्, जुन नाम एन्जिलाको नै हो ।

यस चलचित्रमा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने यसका सम्पादक मिलन श्रेष्ठ हुन् ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बागादिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version