काभ्रेपलाञ्चोक, १५ कात्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए । उक्त सेवा सुरु हुँदा विपी राजमार्गमा हुनसक्ने दुर्घटनाका बिरामी तथा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुली र पूर्वी तराईका केही जिल्लाका नागरिकका लागि निकै सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने गत असोज पहिलो सातादेखि अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । यस्तै सघन कक्ष (आइसीयू) र नवजात शिशुको सघन कक्ष (एनआइसीयू) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।
हाल पाँच अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर यस क्षेत्रका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दाहालका अनुसार उक्त अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, डा. दाहालले भने ।
नगरप्रमुख कुन्साङ लामाले तीन तहका सरकारको समन्वयका कारण मेथिनकोट अस्पतालमा सेवा विस्तार गर्दै लगिएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको उनको भनाइ छ ।
यस्तै अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।
अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण प्रयोगशाला सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करूपमा उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ । रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न