Home राजनीति लुम्बिनी प्रदेशसभा: एक वर्षसम्म पनि संसदीय समितिले पाएनन् नेतृत्व

लुम्बिनी प्रदेशसभा: एक वर्षसम्म पनि संसदीय समितिले पाएनन् नेतृत्व

0
लुम्बिनी-लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन पुन : स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ ।
सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो साता बसेको कार्यव्यवस्था परामर्श समितिको आठौँ बैठकले यही पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तय गरेको थियो । तर प्रदेशसभा सचिव पुनले आज जारी गर्नुभएको सूचनामा प्रदेशसभा कार्यव्यवस्था समितिको यही १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जानकारी गराउनुभएको छ ।
प्रदेशसभा सचिव पुनले समितिको निर्वाचनका लागि आवश्यक तयारी हुन नसकेका कारण एक सातालाई सार्न सभामुख घर्तीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीदलका नेता लिला गिरीले अनुरोध गर्नुभएकाले सभामुखको निर्देशनमा स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रदेशसभामा प्रमुख विपक्षीदल नेकपा ( एमाले ) प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशसभामा समितिको नेतृत्व नहुँदा संसदीय प्रक्रियाका अधिकांश काम प्रभावित भएकाले आफूहरुले नेतृत्वको टुङ्गो लगाउन पहिलेदेखि नै माग राखे पनि सत्ता गठबन्धनकै कारण रोकिएको बताउनुभयो । उहाँले समितिको नेतृत्वका लागि मितिसमेत तोकेर अन्तिम समयमा स्थगित गरिएकामा असन्तुष्टि जनाउनुभयो ।
प्रदेशसभामा नेपाली कांग्रेस प्रमुख सचेतक जन्मजय तिमल्सिनाले समितिको निर्वाचनका लागि मिति तोकर अन्तिम अवस्थामा स्थगित हुनाका कारण आफूले बुझिनसकेको बताउनुभयो । उहाँले निर्वाचनको तयारीका लागि प्रदेश राजधानी जाँदै गर्दा मुख्यमन्त्रीले हाललाई सभामुखसँग सल्लाह गरेर निर्वाचन स्थगित भएको जानकारी दिनुभएपछि मात्र आफूले जानकारी पाएको बताउनुभयो ।
प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । प्रदेशसभाको ६ समितिमा लेखासहित दुईवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने विषयमा छलफल भएको छ । यद्यपि सत्तारूढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुङ्गो लागेको छैन ।
प्रदेशसभाले गत असार ३० गते ६  विषयगत समितिका सदस्य चयन गरेको थियो । तर समितिका सभापति चयन नहुँदा समिति कामविहीन बनेका छन् । प्रदेशसभा सचिवालयका अनुसार अहिलेसम्म प्रदेशसभा सामाजिक विकास समितिको बैठकले स्वास्थ्यसम्बन्धी विधेयक छलफल गरेर संसद्मा पठाएको र प्रदेश मामिला तथा कानुन समिति र अर्थ, उद्योग तथा पर्यटन समितिले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बसेका थिए । प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने व्यवस्था गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version