काठमाडौँ– ललितपुरको बालकुमारीमा हालै भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो ।
उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद्द्वारा पुस १६ गते गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृहमन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले राससलाई जानकारी दिनुभयो । समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम सम्पन्न नभएकाले म्याद थपिएको हो । उक्त घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए ।
त्यसपछि सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य हुनुहुन्छ ।
मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी दिएको छ ।
उक्त घटनापछि केही प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छभने ललितपुरका तत्कालीन प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र तत्कालीन प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा फिर्ता गरिएको थियो ।
–––
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न