पाटन- निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ ।
आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका डा महतले अर्थतन्त्रका सूचकहरु नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पार्नुभयो ।
“मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियोे, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो, “अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।”
डा महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताउनुभयो । “कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।” उहाँले गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि बताउनुभएको थियो ।
डा महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गर्नुहुँदै राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताउनुभयो । उहाँले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको उल्लेख गर्नुभयो ।
उहाँले आगामी वैशाखमा हुने लागानी सम्मेलनमा धेरै लागानीकर्ता लगानी गर्न तयार रहेको बताउँदै उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको दाबी गर्नुभयो ।
पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, रु तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेका थियौँ भन्दै डा महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको उल्लेख गर्नुभयो ।
अर्को एक फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेस तत्कालीन सत्तागठबन्धनकै पक्षमा रहेको र कांग्रेसको महासमिति बैठकले पनि सोही गठबन्धनलाई निरन्तरता दिने नै निर्णय गरेको प्रतिक्रिया दिनुभयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न