दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन गर्ने घोषणा

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि चर्चा गरिएको यो चलचित्र आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुनेछ।
चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पारे। राउतले भने, “निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो। हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज हुनेछ।”
समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा रहेका निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन्।
एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेता द्वय आर्यन सिग्देल र पल शाह आ-आफ्नो चरित्रमा छन्। अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ। चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन्।
यस चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन्। अभिनेत्रीहरूको पात्र झल्काउने पोस्टर पुनः सार्वजनिक गर्ने निर्देशक राउतले बताए। मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ। यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए। ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्।
चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ २, बिहीबार १२:५४कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै समाचार२०८२ जेष्ठ २, बिहीबार ०७:०४धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत समाचार२०८२ जेष्ठ २, बिहीबार ०७:०२लागूऔषधसहित बालकोट र थिमीबाट ६ जना पक्राउ कला, विचार/मनोरञ्जन२०८२ जेष्ठ १, बुधबार २२:४०गायक प्रताप दास र दुर्गा खरेलको स्वरमा ‘ओइ नक्कले’ सार्वजनिक