महासमिति बैठकमा प्रदेश सभापतिको सुझावः कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ
ललितपुर- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उहाँहरुले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताउनुभएको हो ।
छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यले पार्टी र देशको चिन्ता र चासोका विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
उहाँले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको उल्लेख गर्नुभयो । “कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्ताबेजका रुपमा ‘एक नीति र एक लक्ष्य’ बन्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराउनुभयो । पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय पनि छलफलका क्रममा उठेको उहाँले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । “छलफलमा उठेका नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक छन् । यसलाई इमान्दारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको छ”, उहाँले भन्नुभयो ।
गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार गर्न नहुने शाहीको भनाइ थियो । “गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आएको छ । यो तत्कालीन समयले माग गर्ने विषय भएकाले अहिले नै गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सकिदैँन”, उहाँले भन्नुभयो ।
वर्तमान गठबन्धन सर्वसम्मत रुपमा गरिएकाले यसको निरन्तरताका लागि सबै इमान्दारीताका साथ लाग्नुपर्ने सभापति शाहीले बताउनुभयो । केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उहाँको भनाइ थियो ।
मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यले निर्वाचनका समयमा बढ्दो अन्तर्घात घटाउन सके पार्टी बलियो हुँदै जाने भन्दै टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त भएको जानकारी गराउनुभयो । “टिकट नपाएका साथीहरुले नै अर्को साथीलाई हराउन लागेकाले अन्तर्घात बढेको छ”, उहाँले भन्नुभयो ।
कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेश प्रदेशका महासमिति सदस्यले छलफलमा उठाउनुभएको यादवले जानकारी खिनुभयो । “महाधिवेशनको फरक दुई-दुई वर्षको गराउनुपर्दछ । यसले सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ”, उहाँले भन्नुभयो । सभापति यादवले मधेशमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको गुनासो पनि आएको बताउनुभयो ।
बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक समस्यालाई समाधानको पहल गर्नुपर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेलगायत मागहरु उठेका जानकारी गराउनुभयो ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने र आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनुपर्ने गरी काम गर्नुपर्नेलगायत विषय उठेका जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेबारे छलफल भएको बताउनुभयो । “गैरआवासीय नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गराउनुपर्ने कुरा उठेको छ । यसलाई व्यवस्थित गर्न कांग्रेसले पहल गर्नुपर्ने सुझाव प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न