ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न पुगे नेम्बाङ

ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न पुगे नेम्बाङ

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्बाङबीच भेटवार्ता भएको छ। आज बिहान करिब आधा घण्टा भेट वार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी भएको बताइएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीचको संवाद नै अनिश्चित बनेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता नेम्बाङले प्रचण्डको भेटलाई चासोका साथ हेरिएको छ।

अध्यक्ष प्रचण्ड–नेपाल समूहले हिजो राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्धतिको भएको प्रस्ट पारेका थिए। प्रचण्ड–नेपाल समूहको कार्यक्रमपछि ओली–प्रचण्डबीच बुधबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको बैठक बुधबार स्थगित भए पनि बिहीबार बिहान बस्ने बताएका थिए। तर, बिहीबार मध्यान्हसम्म ओली–प्रचण्डबीच छलफल हुन सकेको छैन।

असार १० गते बसेको नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार र पार्टीको कामकारबाही सन्तोष जनक नभएको भन्दै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *