आज सार्वजनिक बिदा, कृष्ण जन्माष्टमी र गौरा पर्व मनाइँदै

आज सार्वजनिक बिदा, कृष्ण जन्माष्टमी र गौरा पर्व मनाइँदै
Share this

असल खबर -श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व आज मनाइँदै छ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।
जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने भएको छ ।
ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाण्डाैका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ । यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि फेरि दिन थालिएको छ ।
यस्तै महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने भएकाले भाद्र कृष्ण अष्टमीमै यो पर्व मनाउन लागिएको हो ।

 

अन्तिम अपडेट: 2021-August-30 समय 7:42 AM

320 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com