खोरबाट उद्धार गरिएकी फुरदिकुको पाटन अस्पतालमा उपचार सुरु

खोटाङ, फागुन १५ । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।
उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । “राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा.अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एक जना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।’
मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली बेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।
आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले जिपमा चढाएर सोमबार अपराह्न अस्पताल पुर्याइएको थियो । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।
कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताएका छन् । पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दुखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनकलाकै जालपा माध्यमिक विद्यालबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गरेका छन् ।
एक छोराकी आमा फुरदिकुले विसं २०७२ मा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गरेकी थिइन् । प्रेम विवाह गरेकी फुरदिकुको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो ।
पच्चीस वर्षकै उमेरमा विधवा बनेकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्केकी थिइन्। श्रीमान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए ।
आमासँगै मावली घर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा ३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुवा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्योलमा परेको छ । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट रु ५१ हजार तीन सय १२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले बताए ।
फुरदिकुको सहयोगमा २६ जनाबाट सङ्कलन भएको रु ३० हजार पाँच सय भने सोमबार बुवा पेमाछेतरलाई हस्तान्तरण गरिसकिएको छ । फुरदिकुका लागि जुटेको सहयोग रकम छोरा पसनुरीको शिक्षादीक्षामा उपयोग गर्ने गरी हस्तान्तरण गरिने सहयोग सङ्कलनको नेतृत्व गरेका पत्रकार चिसाङले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न