बेनीमा ‘होम डेलीभरी’ शून्य

म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ ।
घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न स्वास्थ्य समस्याले सताइरहने हुनाले घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको शाखाका प्रमुख चन्दन सुवेदीले बताए । “बेनी नगरपालिकामा सबै गर्भवतीले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिइरहेका छन्”, उनले भने, “होम डेलिभरी शून्य पालिकालाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।”
नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७ र चालु आवको हालसम्म दुई सय ३५ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ देखि नगरपालिकामा घरमा सुत्केरी हुने आमाको सङ्ख्या शून्य छ ।
दशवटा वडा रहेको बेनीमा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।
आठपटक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । “गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भएका छन्”, उनले भने, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेका छन् ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित







