बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल

म्याग्दी, २० असार । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माणकार्य आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट सुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताए । “यो ठाउँ पहिला पाखो थियो, डोजरले सम्याएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौँ”, उनले भने, “सरकारी निकायबाट जति बजेट आउँछ त्यति बराबरको काम गर्नुपर्दा ढिलाइ भएको हो ।”
खेलमैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्लो छ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो । अन्नपूूर्ण गाउँपालिकाबाट आव २०७६÷७७ देखि २०८१÷८२ सम्म रु ३४ लाख र गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख गरी रु ३९ लाख विनियोजन भएको थियो ।
चालु आवमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख र रु एक लाख १८ हजार १४८ बराबरको श्रमदानमा खेलमैदानको बाहिरी भाग र स्टेज ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताए । व्यवस्थित खेलमैदान निर्माण भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । एकतीस मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ओरेन्ज युवा क्लबका अध्यक्ष बेगबहादुर पाइजा पुनले बताए ।
यसअघि उपल्लो दोसल्लेमा रहेको विद्यालय परिसरको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको थियो । कुनातिर ढुङ्गाको सिँढी चिनेर दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट छभने बाँकी तीनतिर तारजालीले घेराबार भएको छ ।
खेलमैदान निर्माणस्थलमा रहेको सार्वजनिक जग्गा अपुग भएपछि स्थानीय शेरप्रताप पाइजा र पावती पाइजाले १० आना जग्गा उपलब्ध गराएका थिए। पैतालीस घरपरिवार भएको दोसल्ले गाउँका युवायुवती र पौढहरू भलिबल र बास्केटबल खेल्ने गर्छन् । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले दोसल्लेसहित साविक हिस्तान गाविसका पाँचवटै टोलमा पक्की खेलमैदान निर्माण गरिएको जानकारी दिए । घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघि नै खेलमैदान निर्माण भएको थियो ।
“यस वडाको पाँच वटा टोलले आलोपालो गरेर एक वर्षमा एउटा मात्र खेलकुद मेला सञ्चालन गर्ने नियम बनाएका छौँ”, उनले भने, “खेलकुदको प्रवर्द्धन र पुुरानो चलनको निरन्तरताका साथै मेलालाई व्यवस्थित गर्न वडाभित्र वर्षमा एउटामात्र मेला आयोजना गर्ने नियम बनाइएको हो ।” रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल
समाचार२०८२ असार २०, शुक्रबार ०९:०७राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक आज बस्दै
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार ०८:२५‘जनै हराएको मान्छे’ले खोल्नेछ विजय बरालको स्टारडमको अर्को अध्याय?
समाचार२०८२ असार १९, बिहीबार २२:३३पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो