हैजाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्री पौडेललको निर्देशन

हैजाका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्री पौडेललको निर्देशन

पर्सा- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।
वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न आउनुभएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताउनुभएको हो ।
नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ, नत्र भने परिस्थितिवस थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको हो ।
मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिनुभएको थियो ।
मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वीरगञ्जका  निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गर्नुभयो ।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिनुभयो । उहाँले समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर दीर्घकालीन योजनासहित काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा झाडापखला र हैजाको समस्या देखिएकाले समस्या समाधान गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताउनुभयो । पाँच वटा कलष्टरमा आधारित भएर आवश्यक काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट (मेसु) चुमनलाल दासले  अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो । तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
मेसु दासका अनुसार हाल यहाँ प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली आएर उपचार सेवा दिइरहेका छन् । यस्तै, वीरगञ्ज नर्सिङ कलेजका बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थी र वीरगञ्ज महानगरबाट स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी आएर आवश्यक सहजीकरण गरिरहेका छन् ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ जना बिरामीको सङ्ख्या दर्ता भएको बताउनुभयो । “हालसम्म एक सय तीन जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा उपचारत रहेका छन् । २२ जना सघन उपचार कक्ष (आइसियु) र छ जना बिरामी ‘एचसियु’मा उपचाररत छन् ”, उहाँले भन्नुभयो,“बाँकी रहेका बिरामी जनरल वार्डमा छन् । आइसियुमा रहेका २२ मध्ये २० जना निजी अस्पताल र दुई जना नारायणी अस्पतालमा छन् ।”
यहाँ हालसम्म एक सय २४ जना बिरामी उपचार गरेर घर फर्किसकेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =  

Protected by Spam Master