आमनागरिकले पछ्याउने भएकाले कलाकारले स्वास्थ्य जीवनशैली अपनाउन सन्देश प्रवाह गरौँः मन्त्री गुरुङ

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई कलाकारितासँगै स्वास्थ्यको ख्याल राख्न र नियमित जाँच गराउन आग्रह गर्नुभएको छ । आज यहाँ चलचित्र विकास बोर्डद्वारा आयोजित ‘विशिष्ट चलचित्रकर्मी वितरण समारोह’ मा उहाँले जीवनलाई स्वास्थ्य र तन्दरुस्त राख्न नियमित स्वास्थ्य जाँचका साथै अनुशासित जीवनशैली अपनाउन सन्देश प्रवाहका लागि आग्रह गर्नुभएको हो ।
मन्त्री गुरुङले भन्नुभयो, “हामीले आफ्नो स्वास्थ्यका बारेमा गरिने परीक्षणमार्फत बेलैमा विभिन्न जानकारी पाउने गर्छौं, यसले गम्भीर प्रकृतिका रोगबाट बचाउँछ । साथै, कलाकारको जीवनशैलीलाई आमदर्शक र नागरिकले पछ्याउने भएकाले पनि स्वास्थ्यसम्बन्धी गतिविधिमा चनाखो हुनु जरुरी छ ।”
उहाँले विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नेलाई रु एक लाख ५० हजार र चलचित्रकर्मीको परिचय प्राप्त गर्नेलाई रु ७५ हजारको स्वास्थ्य बिमा (औषधि÷उपचारका लागि) उपलब्ध गराइने घोषणा गर्नुभयो । मन्त्री गुरुङले चलचित्र क्षेत्रको समृद्धिका लागि सरकार र आफूले गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।
“सरकारले यस क्षेत्रमा सक्दो सहयोग गरिरहेको छ । नीतिगत कुरासँगै पूर्वाधार विकासमा पनि सकेको सहयोग गरेका छौँ । राष्ट्रिय चलचित्र दिवस (असोज १५ गते) घोषणा गरेका छौँ । उक्त दिनलाई भव्यताका साथ मनाउन म चलचित्रकर्मीलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नयाँ बन्ने चलचित्र नीतिले हाल देखिएका केही अपूर्णतालाई सम्बोधन गर्ने बताउनुभयो । “चलचित्र क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न पुगेको छ । मनोरञ्जनमा सीमित यस क्षेत्रले जसरी आफ्नो अस्तित्व बनाउँदै सम्मानित क्षेत्र बन्न पुगेको छ, आगामी दिनमा अन्तरराष्ट्रियस्तर हासिल गर्नेमा पूर्ण विश्वस्त छु । यसका लागि चलचित्र निर्माता, निर्देशकसँगै हामीले पनि विकास बोर्डमार्फत विभिन्न कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई राज्यले चलचित्रकर्मी परिचयपत्र दिएकाले यो महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले २० देखि ३० वर्षसम्म चलचित्रकर्ममा बिताउनुभएका चलचित्रकर्मीलाई परिचयपत्र दिएका छौँ । आफ्नो जीवनको ऊर्जावान समय चलचित्रको स्तरोन्नतिमा खर्चिनुभएका चलचित्रकर्मीलाई दिइएको परिचयपत्रमा बिस्तारै सकेको सेवासुविधा थप्दै जाने छौँ । यो राज्य दिएको एउटा पहिचान हो । हामीले यसमा कुनै विभेद नगरी प्रक्रिया पुगेका सबै चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिरहेका छौँ ।”
अध्यक्ष डिसीले चलचित्रमा काम सुरु गरेको ३० वर्ष पुगेकालाई विशिष्ट चलचित्रकर्मी र २० वर्ष नाघेकालाई चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानलगायतका ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’