‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने शून्य

कञ्चनपुर, असोज २७ । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ।
सुरक्षित रूपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको २४ घण्टे बर्थिङ सेन्टरका कारण यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ।
स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार बर्थिङ सेन्टरमा हरेक दिन चौबिसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। उनले भनिन्, ‘दुर्गम र सीमावर्ती क्षेत्र भएकाले महिलालाई टाढा अस्पताल लैजान कठिन हुने हुँदा यहाँका गर्भवती महिलाले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन्।’
चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पालै–पालो खटाइने भएकाले चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने उनको भनाइ छ। लालझाडी गाउँपालिका मात्र नभइ शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका गर्भवती सुरक्षित सुत्केरी सेवाका लागि देखतभूली स्वास्थ्य चौकीमा आउने गरेका छन्। स्वास्थ्य चौकीको वार्षिक तथ्याङ्कअनुसार चालु आवको हालसम्म एक सय ३० भन्दा बढी महिलाले सुरक्षित प्रसूतिसेवा केन्द्रमार्फत लिएका छन्। मातृ तथा शिशु मृत्यु दर शून्य रहेको यस क्षेत्रमा घरमै सुत्केरी हुने कार्य पूर्णरूपमा अन्त्य भएको प्रमुख झाले जानकारी दिइन्।
उनका अनुसार प्रसूति सेवा नियमित र गुणस्तरीय भएको कारण महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने प्रवृत्तिमा जोड दिइरहेका छन्। यसले सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा पनि सकारात्मक प्रभाव पारेको उनको भनाइ छ। ‘घरमै सुत्केरी हुने चलन समाप्त हुनु सिङ्गो समुदायको स्वास्थ्य सचेतनाको उपलब्धि हो,’ उनले भनिन्, ‘महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी र वडाका भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुनेकार्य बन्द भएको छ,अब हाम्रो लक्ष्य सुरक्षित प्रसूतिसँगै मातृ स्वास्थ्यको थप सुदृढीकरण गर्ने हो।’
उनका अनुसार बर्थिङ सेन्टरमार्फत जन्मिने शिशुमध्ये बालिकाको सङ्ख्या बालकको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ। यसले महिलामाथिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि सङ्केत गर्छ। स्थानीय महिलाले सेवा पाउँदा राहत महसुस गरेको बताउँदै देखतभूलीका बन्तो रानाले भने, ‘पहिले बर्थिङ सेन्टर नहुँदा धेरै जनाले जोखिम मोल्दै असुरक्षित तरिकाले घरमै सुत्केरी हुन्थ्ये, केही टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो, अहिले घर नजिकै सुरक्षित प्रसूति सेवा पाइन थालेपछि निकै सहज भएको छ।’
लालझाडी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखतभूली स्वास्थ्य चौकी उदाहरणीय बनेको छ। मातृ तथा शिशु मृत्यु दर शून्य, घरमै सुत्केरी हुने प्रथा समाप्त र २४ घण्टे सेवा निरन्तर सञ्चालन हुनु यस क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई








