पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल

गण्डकी, २९ असोज । यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो ।
यस वर्ष डेङ्गु सङ्क्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको पूर्वतयारी र समुदायको सजगताका कारण डेङ्गु फैलन नपाएको उनको भनाइ छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा डेङ्गु सङ्क्रमणको दर झण्डै ७५ प्रतिशतले कम भएको बताए । “गत वर्ष डेङ्गु सङ्क्रमण व्यापक रूपमा देखिएपछि । यस वर्ष मानिस आफैँ सजग भएको देखियो, सम्बन्धित निकायले पनि समयमै नियन्त्रण तथा रोकथामका उपाय अवलम्बन गरे”, उनले भने, “पोखराका अस्पतालहरूको अनुगमन गर्दा पनि डेङ्गुका बिरामी धेरै कम भर्ना भएको पाइयो, अहिले डेङ्गुको खासै समस्या छैन ।”
डेङ्गु सार्ने लामखुट्टेको मुख्य बासस्थान मानिने पुराना टायरलाई सरसफाइ तथा व्यवस्थापनमा अटोमोबाइल एसोसिएसनले अगुवाइ गरेको उनले बताए । डेङ्गु सार्ने लामखुट्टेका लागि मौसम पनि प्रतिकूल परेकाले समुदायमा रोग फैलन नपाएको प्रमुख नेपालीले बताए । जाडोयाम सुरु हुन लागेकाले अब डेङ्गुको जोखिम पनि घट्दै जाने उनको भनाइ छ । साउनदेखि कात्तिकसम्मलाई डेङ्गु सङ्क्रमणको बढी जोखिमयुक्त समय मानिन्छ ।
डेङ्गु सङ्क्रमण रोक्न पोखरा महानगरपालिकाले सुरुदेखि नै समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंसेवीलगायतलाई पनि डेङ्गु सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।
डेङ्गु परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको उनको भनाइ छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गु रोकथाम र नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।
डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनले बताए । “समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गुले महामारीको रूप लिनसक्छ”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने, “जनघनत्व बढी भएका ठाउँमा डेङ्गु छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ ।”
डेङ्गु रोग सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु नियन्त्रणको उत्तम उपाय भएको चिकित्सक बताउँछन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार १३:२१सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
समाचार२०८२ फाल्गुन १०, आईतवार ११:४९खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा








