तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’

तनहुँ, कार्तिक २२ । तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।
नेपाल सरकारको कार्यक्रमअनुसार गण्डकी प्रदेशको बागलुङस्थित धौलागिरी प्रादेशिक आर्युर्वेद चिकित्सालय, तनहुँको प्रदेश आयुर्वेद चिकित्सकालय, कास्कीको गण्डकी आयुर्वेद अस्पताल र गण्डकी प्रदेश सरकारले नवलपुरको प्रदेश आयुर्वेद चिकित्सालयबाट पाइलट कार्यक्रमका रूपमा स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु गर्न लागेको प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।
तनहुँमा यही कात्तिक २५ गते बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने उनले जानकारी दिए । अस्पतालमा बिहान ७ बजेदेखि १० बजेसम्म बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइनेछ ।
जिल्लामा पहिलो पटक भएकाले कति बालबालिकालाई खुवाइन्छ भन्ने एकिन नभएकाले यो पटक आउने सङ्ख्याले आगामी दिनमा सहज हुने उनको भनाइ छ । नेपालका २५ वटा जिल्लामा यस वर्षबाट स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु भएको बताउँदै उनले प्रत्येक कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने उल्लेख गरे ।
श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइनेछ ।
स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिए । नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको कुशे नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराउने उनले बताए ।
श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्नेछ । उनले भने, “पहिलो पटक भएकाले कात्तिक २५ गते कतिजना बालबालिका आउँछन्, त्यसका आधारमा आगामी दिनका कार्यक्रम बन्नेछ ।”
ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी, एलर्जी भएका बालबालिकालाई भने यो खुवाउन नहुने श्रेष्ठको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









