मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, १ पुस । बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ ।
खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका साथै स्थानीय बालबालिका र युवायुवतीलाई खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष हिक्मत शेरचनले बताए । “खेलमैदानको संरचनाले बराहपाखोबाट आउने बाढीलाई सिधै मङ्गलाघाटको बस्तीमा आउन रोकेको छ”, उनले भने, “खेलमैदान नहुँदा बालबालिका र युवायुवती सडकमै खेल्दा हुने दुर्घटनाको जोखिम पनि घटेको छ ।”
यो खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ । यसअघि खेलमैदान अभावमा बालबालिका सडकमै खेल्दा दुर्घटनाको जोखिम थियो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको रु १३ लाख सहयोगमा उपभोक्ता समितिले बेनी–दरवाङ सडकदेखि खेलमैदान पुग्ने पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट बनाएका छन् ।
यसअघिका वर्षमा पनि वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखको हाराहारीमा बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम गरिँदै आएको थियो । मङ्गलाघाटका दीपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि खेलमैदान जाने बाटोमा पर्ने जग्गा उपलब्ध गराएका छन् ।
जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले मङ्गलाघाटको खेलमैदानलाई विशेष गरेर भलिबल खेल अभ्यासका लागि प्रयोग गर्न थालिएको बताए । “खुलामञ्च खेलमैदानमा फुटबल र क्रिकेटसँगै विभिन्न सभा, समारोह, मेला महोत्सव हुने हुँदा खेलकुद गतिविधि सञ्चालन गर्न वैकल्पिक ठाउँको खोजीमा थियौँ”, उनले भने, “बेनीमा भलिबलको छुट्टै खेलमैदान नहुँदासम्मका लागि अस्थायी र वैकल्पिक हिसाबले मङ्गलाघाटको खेलमैदान प्रयोग गर्न थालेका छौँ ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने
खेलकुद२०८३ बैशाख ७, सोमबार १८:०७युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै








