३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या « रिपोर्टर्स नेपाल

कैलाली, ६ पुस । घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए ।
“मोतियाबिन्दुको समस्या देखिएका सबै बिरामीलाई आइतबार र बिहीबार गेटा आँखा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ”, उनले भने, “बिरामीलाई सुख्खडबाट अस्पतालसम्म ल्याउन निःशुल्क सवारीसाधनको पनि व्यवस्था गरिएको छ ।”
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पुर्याएको छ ।
सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार ११:४३सुन तोलामा एक हजार छ सयले घट्यो
समाचार२०८२ चैत्र १०, मंगलवार ११:३२रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार बोलाइयो
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP








