निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया

दमौली (तनहुँ), १९ माघ । तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाविन्दु देखिएका ८९ जनाको शल्यक्रिया गरिएको हो ।
शिविरमा छ सय जनाको आँखा परीक्षण गरिएकामा एक सय १७ जनामा मोतियाविन्दु देखिएको थियो । त्यसमध्ये ८९ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
सामान्य आँखा समस्या, दृष्टि कमजोर हुनु, आँखा दुख्ने जस्ता समस्या लिएर आएका सेवाग्राहीले निःशुल्क परामर्श तथा औषधि समेत प्राप्त गरेका थिए ।
लामो समयदेखि आँखाको समस्या भएपनि आर्थिक अवस्था कमजोर वा टाढा जान नसक्दा उपचार गर्न नपाएका धेरै नागरिक यस शिविरमार्फत पहिचानमा आएको उपाध्यायले बताए ।
शल्यक्रियापछि सेवाग्राहीहरूले पुनः स्पष्ट देख्न पाएको अनुभव सुनाउँदै खुसी व्यक्त गरेका छन् । कतिपय ज्येष्ठ नागरिकले लामो समयपछि अनुहार चिन्न, किताब पढ्न र दैनिक कामकाज सहज भएको बताएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले शिविरले आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न सहयोग पुगेको बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै ग्रामीण भेगका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ शिविर सञ्चालन गरिएको बताए ।
गाउँपालिकाले आगामी दिनमा आँखा उपचार मात्र नभई अन्य स्वास्थ्य समस्यालाई लक्षित गरी पनि विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइरहेको उनले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ









