गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

धादिङबेशी । दशौँ धादिङ महोत्सवमा नेपालमै उत्कृष्ट मानिने गल्छीको खुवा र सल्यानटारको मास र खरीको पिंडालुले विशेष चर्चा पाएका छन् । महोत्सव सुरु भएको पहिलो दिनदेखि नै यी स्थानीय उत्पादनप्रति दर्शक तथा उपभोक्ताको उल्लेख्य भीड देखिएको छ ।

गल्छी गाउँपालिका–स्थित धिताल मिठाइ पसलबाट ल्याइएको गल्छीको खुवा, लस्सी, छुर्पी, गुँदपाक र पुष्टकारी महोत्सवको मञ्च अगाडि राखिएको स्टलमा बिक्रीका लागि राखिएको छ । देशभर यात्रा गर्नेहरूले गल्छी पुगेपछि खुवा र लस्सी नखाई नफर्कने परम्परा नै बनेको भन्दै महोत्सवमा समेत यसको स्वाद लिन उपभोक्ताको भीड लागेको छ ।

देशका नेता तथा उच्च प्रशासकसमेत गल्छी पुग्दा खुवा खाने गरेको स्मरण गर्दै आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले महोत्सवमा गल्छीको खुवा आएपछि चहलपहल झनै बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनले बजार पाउँदा किसान र उद्यमी दुवै उत्साहित भएका छन् ।

यसैगरी, सल्यानटारको मासले पनि महोत्सवलाई थप ऊर्जा दिएको छ । स्वादिलो, सजिलै पाक्ने र पूर्ण रूपमा स्थानीय उत्पादन भएकाले सल्यानटारको मास तथा मासको दाल नाम सुन्नासाथ उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । महोत्सवको कृषि तथा स्थानीय उत्पादन स्टलमा सल्यानटारको मास बिक्री भइरहेको मास विक्रेता सञ्जु श्रेष्ठले जानकारी दिनुभयो । हाल सल्यानटारको मास प्रतिपाथी एक हजार रुपैयाँमा बिक्री भइरहेको छ भने सल्यानटारको कालो भटमास पनि सोही मूल्यमा उपलब्ध रहेको उहाँले बताउनु भयो ।

सरकारले अघि सारेको “एक गाउँ, एक उत्पादन” नीतिअन्तर्गत सल्यानटार क्षेत्र मास र भटमासको उत्पादनका लागि परिचित बन्दै गएको छ । स्थानीय उत्पादनले बजार पाउने वातावरण बनेसँगै किसानको आत्मविश्वास बढेको स्थानीयको भनाइ छ । गल्छीको स्वादिलो खुवा र सल्यानटारको अर्गानिक मासले यस वर्षको धादिङ महोत्सवलाई थप रौनक दिएको छ भने स्थानीय उत्पादनले नै अर्थतन्त्र चलाउन सकिन्छ भन्ने सशक्त सन्देश पनि दिएको छ ।

त्यसैगरी खरिको पिँडालु पनि पछिल्लो समय स्वाद र पोषणका कारण उपभोक्ताको रोजाइमा पर्दै गएको छ । विशेष गरी ग्रामीण भेगमा परम्परागत रूपमा खेती हुँदै आएको पिँडालु अहिले बजारमुखी बालीका रूपमा चिनिन थालेको छ । खरिमा उत्पादन हुने पिँडालु स्वादिलो, सजिलै पक्ने र रासायनिक मल तथा विषादीको प्रयोग न्यून हुने भएकाले अर्गानिक उत्पादनका रूपमा परिचित हुँदै गएको छ ।

वर्षौंदेखि घरेलु प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको पिँडालु पछिल्ला वर्षहरूमा बजारसम्म पुग्न थालेपछि किसानको आम्दानीको स्रोतसमेत बन्दै गएको छ । स्थानीय किसानहरूका अनुसार खरिमा उत्पादन हुने पिँडालु तरकारी, अचार र चिप्सलगायत विभिन्न परिकारका लागि उपयुक्त हुन्छ । विशेष गरी स्थानीय होटल, भोजभतेर तथा चाडपर्वको समयमा यसको माग उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

कृषि प्राविधिकहरूका अनुसार पिँडालुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, फाइबर र खनिज तत्व पाइने भएकाले स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ । न्यून लागतमा उत्पादन गर्न सकिने भएकाले साना किसानका लागि यो बाली लाभदायक विकल्प बन्दै गएको उनीहरूको भनाइ छ ।

खरि क्षेत्रका किसानहरूले प्रचार प्रसारकै लागी महोत्सवमा स्टल लिएर बिक्री बितरणमा जुटेका हुन् । आगामी दिनमा पिँडालुले धादिङको अर्को पहिचान बनाउन सक्ने सम्भावना रहेको उनीहरूको विश्वास छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा खरिमा उत्पादन हुने पिँडालुले अर्को चर्चा पाएको छ । यसले किसानलाई प्रोत्साहन मिल्नुका साथै उपभोक्तालाई पनि स्थानीय उत्पादनप्रति आकर्षित गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   9   =  

Protected by Spam Master