विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर (झापा), २१ माघ । झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट)क्यान्सरका कारण निधन भयो । क्यान्सर लागेको थाहा पाउँदा उनको रोग चौथो स्टेजमा पुगेको थियो । अस्पतालमा जाँच गर्दा ढिलो भइसकेको भन्दै चिकित्सकले उपचार सुरु गरे पनि चार वर्षसम्म निरन्तर उपचाररत रहँदै उनले संसार त्यागे । परिवारले सक्दो प्रयास र सहयोग गरे पनि समयमै रोग पहिचान नहुँदा उनको ज्यान जोगाउन सकिएन ।

त्यस्तै झापाको भद्रपुर नगरपालिका–८ का देवेन्द्र किशोर ढुङ्गाना भने क्यान्सरलाई जितेर अहिले सामान्य जीवन बिताइरहेका छन् । हाल ६५ वर्ष पुगेका ढुङ्गानाको १० वर्षअघि एक्कासि स्वर कम हुन थालेपछि शङ्का लागि विभिन्न अस्पतालमा जाँच गर्दा दोस्रो स्टेजको क्यान्सर पत्ता लागेको थियो । चिकित्सकको सल्लाहअनुसार समयमै उपचार सुरु गरेपछि उनी पूर्ण रूपमा स्वस्थ रहेका छन् र दैनिक जीवनमा सक्रिय रहेका छन् ।

यी दुई फरक–फरक अनुभवले देखाउँछन् कि क्यान्सर समयमै पत्ता लागेमा पूर्ण रूपमा निको पार्न सकिन्छ तर ढिलो पहिचान हुँदा जीवन नै जोखिममा पर्नसक्छ । चिकित्सकहरूले क्यान्सर डराउनुपर्ने रोग नभई बेहोरामा गम्भीर रोग भएको र प्रारम्भिक लक्षणलाई सामान्य ठानेर ढिला गर्दा उपचार जटिल हुँदै जाने र रोग फैलिने जोखिम बढ्ने बताएका छन् ।

त्यसैले नियमित स्वास्थ्य जाँच, लक्षणप्रति सचेत रहनु र चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउनु अत्यन्तै आवश्यक रहेको विशेषज्ञहरूले सुझाव दिएका छन् । प्रारम्भिक पहिचानले उपचार सहज र प्रभावकारी बनाउँछ भने ढिला गरिएको उपचारले जटिलता, लामो समयको उपचार र आर्थिक बोझ बढाउन सक्छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापाका निर्देशक डा वीरेन्द्र यादवका अनुसार, क्यान्सर शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा वृद्धि हुने गम्भीर रोग हो । सामान्य अवस्थामा शरीरका कोषिकाहरू नियन्त्रित रूपमा बढ्ने र निश्चित समयपछि नष्ट हुने प्रक्रिया हुन्छ । तर क्यान्सरमा कोषिकाहरू नियन्त्रण बाहिर बढ्दै जान्छन् र क्रमशः शरीरका अन्य अङ्गमा समेत फैलिन सक्छन् । यही कारण क्यान्सरलाई जटिल र घातक रोगका रूपमा लिइन्छ ।

डा यादवका अनुसार क्यान्सर पहिलो र दोस्रो स्टेजमै पत्ता लागेमा पूर्ण रूपमा निको पार्न सकिने सम्भावना अत्यन्त उच्च हुन्छ । “पहिलो स्टेजको क्यान्सर करिब ९० प्रतिशतसम्म निको हुन्छ । दोस्रो स्टेजमा ८०–८५ प्रतिशतसम्म उपचार सफल हुन्छ”, उनले भने, “तर व्यवहारमा अधिकांश बिरामी ढिलो गरी अस्पताल पुग्ने गरेका छन् ।”

यो पनि पढ्नुहोस् :  सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशत तेस्रो र चौथो स्टेजमा मात्रै आइपुग्ने गरेको डा यादवको भनाइ छ । “तीमध्ये करिब ५० प्रतिशत बिरामी अन्तिमअर्थात् चौथो स्टेजमै अस्पताल आउँछन्”, उनले भने । सुरुआती चरणअर्थात् पहिलो स्टेजमा आउने बिरामीको प्रतिशत १२–१३ मात्र रहेको छ भने दोस्रो स्टेजमा आउने बिरामी १६–१७ प्रतिशत रहेको उनले जानकारी दिए ।

क्यान्सरको उपचार सम्भावना स्टेजअनुसार फरक–फरक हुने गरेको डा यादव बताउँछन् । उनका अनुसार पहिलो स्टेजमा उपचार सफलताको दर ९० प्रतिशतसम्म रहने गरेको छ, दोस्रो स्टेजमा ८०–८५ प्रतिशत, तेस्रो स्टेजमा करिब ७० प्रतिशत र चौथो स्टेजमा झरेर करिब २० प्रतिशतमा सीमित हुन्छ । यस्तै अस्पतालको तथ्याङ्कअनुसार चौथो स्टेजका बिरामीमध्ये अधिकांश चार–पाँच वर्षसम्म मात्र बाँच्ने गरेका छन् ।

धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, बढ्दो शहरीकरण र बदलिँदो जीवनशैली क्यान्सरका प्रमुख कारण रहेको डा यादव बताउँछन् । “क्यान्सरको सबैभन्दा ठूलो कारण धुम्रपान हो”, डा यादवले स्पष्ट पारे । उनका अनुसार युवावस्थादेखि नै अपनाइने गलत जीवनशैलीले पछि गएर क्यान्सरको जोखिम उल्लेखनीय रूपमा बढाउँछ । साथै, अत्यधिक मांसाहार, प्रशोधित खाना, बढी चिनी र बोसोयुक्त पदार्थको सेवन, पर्याप्त निद्रा नपाउनु र तनावपूर्ण जीवनशैलीले पनि क्यान्सरको सँभावना बढाएको हुन्छ । डा यादवका अनुसार जीवनशैली सुधार, नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपान र मद्यपानबाट टाढा रहनु, साथै समय समयमा स्वास्थ्य जाँच गराउनु क्यान्सर रोकथाम र प्रारम्भिक उपचारका लागि अत्यन्तै आवश्यक छ ।

महिलामा हाल सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो भने त्यसपछि पाठेघरको क्यान्सर रहेको छ । पहिले पाठेघरको क्यान्सर बढी देखिन्थ्यो, तर पछिल्लो समय सेनेटरी प्याडको प्रयोग, व्यक्तिगत स्वच्छतामा ध्यान र स्वास्थ्य सचेतना बढ्दै गएको कारण यसको दर केही घटेको डा यादवले बताए । पुरुषमा मुख्य रूपमा फोक्सो, मुख तथा घाँटीको क्यान्सर देखिन्छ । महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिने र क्यान्सरजन्य मृत्युको प्रमुख कारण बनेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् :  सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना

पूर्वाञ्चल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार पछिल्लो छ वर्षमा करिब आठ हजार क्यान्सरका बिरामी पत्ता लागेका छन् । वार्षिक रूपमा करिब एक हजार ८०० बिरामीले ओपिडी सेवा लिएका छन् । यसले क्यान्सरका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको सङ्केत गर्छ भने समयमै रोकथाम र जाँचको आवश्यकता अझै बढ्दै गएको देखाउँछ ।

क्यान्सर समयमै पत्ता नलाग्नुका मुख्य कारणमा जनचेतनाको अभाव, जाँच गराउने केन्द्रबारे पर्याप्त जानकारी नहुनु, अस्पतालसम्म पुग्ने यातायातको सीमितता र आर्थिक समस्या रहेको डा यादवले बताए । “धेरै बिरामी आर्थिक अभावकै कारण ढिला उपचारमा आउँछन्”, उनले भने ।

डा यादवका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक अझ बढी प्रभावित हुने गर्छन्, जहाँ स्वास्थ्य सेवा पहुँचमा कठिनाइ, पर्याप्त स्वास्थ्य उपकरण र विशेषज्ञको कमीले प्रारम्भिक पहिचानमा बाधा पु¥याउँछ ।

साथै, केही बिरामीहरू परम्परागत वा वैकल्पिक उपचारतिर जाने प्रवृत्ति राख्दा पनि क्यान्सर ढिला पत्ता लाग्ने र उपचार जटिल हुने जोखिम बढ्ने डा यादवले उल्लेख गरे । डा यादवले सबै नागरिकलाई समयमै स्वास्थ्य जाँच गराउन, लक्षण देखिनासाथ विशेषज्ञसँग सल्लाह लिन र क्यान्सर रोकथामका उपाय अपनाउन सचेत हुन सुझाउँछन्।

नेपाल सरकारले क्यान्सरलाई जटिल रोगको सूचीमा राखेको छ । यसअन्तर्गत क्यान्सरका बिरामीलाई रु एक लाखसम्मको उपचार अनुदान उपलब्ध गराइएको छ । साथै, स्थानीय तहबाट मासिक रु पाँच हजारसहयोग दिने व्यवस्था पनि छ । तर, यो व्यवस्था व्यावहारिक नभएको डा यादवको धारणा छ । “पूर्ण रूपमा निको भइसकेका बिरामीले मासिक रु पाँच हजार पाउँछन् तर जटिल अवस्थामा पुगेका बिरामी आर्थिक अभावकै कारण उपचारबाट वञ्चित छन्”, उनले भने ।

डा यादवका अनुसार मासिक सहयोगको सट्टा जटिल स्टेजमा पुगेका बिरामीलाई आवश्यकताअनुसार एकमुष्ट रकम उपलब्ध गराए प्रभावकारी हुनेछ । ‘विपन्न नागरिक औषधोपचार कोष निर्देशिका २०७५’ अनुसार विपन्न नागरिकले वडा कार्यालयको सिफारिस, चिकित्सकको प्रेस्क्रिप्सन, नागरिकताको प्रतिलिपि र अन्य आवश्यक कागजात बुझाएपछि उपचार सहुलियत पाउन सक्छन् । तर प्रक्रिया झन्झटिलो भएकाले धेरै बिरामी समयमै सुविधा लिन नसक्ने अवस्था रहेको डा यादव बताउँछन् ।

यो पनि पढ्नुहोस् :  सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना

डा यादवले क्यान्सर बिरामीका लागि छुट्टै दीर्घकालीन कोष स्थापना गर्नुपर्ने औँल्याए । साथै, स्वास्थ्य बिमामा रहेको तीन महिना पर्खनुपर्ने व्यवस्था हटाएर बिमा सुरु भएको मितिबाटै उपचार सुविधा लागू गरिनुपर्ने उनको सुझाव छ । यसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न सक्छ र बिरामीलाई समयमै उपचार सुनिश्चित गर्न सहयोग पु¥याउँछ । “सरकार र स्वास्थ्य संस्थाले सहुलियतको पहुँच बढाउन, अनुदान र बिमा दुवैलाई सहज र प्रभावकारी बनाउनु जरूरी छ, ताकि जटिल अवस्थाका बिरामीलाई ढिला नहोस् र जीवन रक्षा सुनिश्चित होस्”, डा यादवले भने ।

विश्व क्यान्सर दिवसको सन्दर्भमा चिकित्सकहरूले समयमै स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली अपनाउने, धुम्रपान र मद्यपान त्याग्ने र व्यापक जनचेतनामा जोड दिने आग्रह गरेका छन् । ढिला उपचार गर्दा जीवन जोखिममा पर्न सक्ने भए पनि, समयमै पहिचान र उपचार गरेमा क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने रोग भएको उनीहरूको निष्कर्ष छ । -दिपक चन्द/रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =  

Protected by Spam Master