निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका

निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका

काठमाडौँ- आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय निर्वाचन गराउँछ ।

यसर्थ, १८ वर्ष उमेर पुगेका आम मतदाताले निर्वाचन आयोगले सम्पन्न गराउने निर्वाचनमा सहभागी भई नागरिकको कर्तव्यपालना गर्नुपर्छ । निर्वाचन आयोगको मुख्यालय काठमाडौँमा छ । सातै प्रदेश र ७७ वटै जिल्लामा यसका कार्यालयहरु छन् । यसर्थ, आफूलाई द्विविधा भएको विषयमा ती कार्यालयमा सम्पर्क राख्न सकिन्छ ।

आयोगले सञ्चालन गरेको ‘कल सेन्टर’ र आयोगको ‘वेबसाइट’बाट पनि भरपुर सूचना हासिल गर्न सकिन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाका २७५ जना सदस्य छनोटका लागि निर्वाचन हुँदैछ । यसमा ७७ जिल्लाबाट १६५ जना प्रत्यक्ष रुपमा निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचनबाट निर्वाचित हुने कानुनी व्यवस्था छ । यसरी हामी मतदाताले एकै पटक प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्रमा आप्mनो मत हाल्नुपर्छ

प्रत्यक्षतर्फको मतदानबाट सर्वाधिक मत ल्याउने उम्मेदवार विजयी हुन्छन् तर समानुपातिकतर्फ राजनैतिक दलको चुनाव चिह्नमा मत खसाएपछि सो को राष्ट्रियस्तरमा मतगणना भई मत सङ्ख्याका आधारमा समानुपातिक तर्फका उम्मेदवार निर्वाचित हुन्छन् । यसरी हामी मतदाताले एउटा मतपत्रमा प्रत्यक्षतर्फ मतदान गरी आफूले मतदान गरेको उम्मेदवार विजयी भए वा पराजित भए भनी मत गणनापछि जानकारी पाउछौँ

समानुपातिक तर्फको मतदानबाट कुन उम्मेदवार विजयी भए वा कुन उम्मेदवार पराजित भए भनी मतदातालाई प्रत्यक्ष जानकारी हुँदैन । तर, निर्वाचनपछि निर्वाचन आयोगले कुन दलबाट कोको समानुपातिक उम्मेदवार विजयी भए भनी जानकारी गराउँछ । यसरी प्रत्यक्ष निर्वाचनबाट हामी मतदाताले व्यक्तिको छनोट गर्दछौँ भने समानुपातिक मतदानबाट राजनैतिक दलको छनोट गर्दछौँ भनी हेक्का राख्नुपर्छ

नेपालको नागरिकताको प्रमाणपत्र भएको व्यक्ति १८ वर्ष पूरा भएपछि निर्वाचन आयोगको प्रक्रियाअनुसार मतदाता नामावलीमा सूचीकृत हुनुपर्छ । यसपछि आप्mनो फोटोसहितको मतदाता परिचयपत्र बन्छ । आगामी फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न जाँदा सोही परिचयपत्र लिएर जानुपर्छ । सामान्यतः मतदान गर्न जाँदा नागरिकताको प्रमाणपत्र, लालपुर्जा, सवारीचालक अनुमतिपत्र, आफू कार्यरत कार्यालयको परिचयपत्र वा राहदानी लिएर जानु पर्दैन ।

निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र समयमै खोजेर ठिक्क पार्नुपर्छ । तर मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कारणवश मतदाता परिचयपत्र फेला नपरेमा माथिका पाँचवटामध्ये कुनै एउटा कागजातको सक्कलै लिएर जाँदा मतदान गर्न पाइने व्यवस्था छ । यस्ता कुराको जानकारीका लागि निर्वाचन आयोगले मतदाता जागरण कार्यक्रम सञ्चालन गर्छ । यसमा सहभागी भई निर्वाचनसम्बन्धी अधिक कुरा जान्नुपर्छ । यस्तो कार्यक्रममा सहभागी हुन नसके निर्वाचन आयोगको वेबसाइटबाट पनि आवश्यक सूचनाहरु सङ्कलन गर्न सकिन्छ ।

निर्वाचनको दिन सवारीसाधन चलाउन पाइन्न । सो दिन सार्वजनिक यातायात सञ्चालन हुँदैन । यसर्थ, आप्mनो मतदान केन्द्र कहाँ परेको छ भनी मतदान हुनु पहिल्यै जानकारीमा राख्नुपर्छ । मतदान गर्ने समय बिहान ८ बजे आरम्भ भई बेलुकी ५ बजे समाप्त हुन्छ । यसर्थ, समयमै मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्छ । त्यहाँ सर्वप्रथम आप्mनो नाम भिडाउनुपर्छ । महिला र पुरुषको लाइन भिन्दाभिन्दै हुन्छ । मतदानस्थलमा प्रवेश गर्ने द्वार र बाहिरिने ढोका फरक हुन्छ ।

मतदान केन्द्रको वरिपरि होहल्ला गर्न निषेध हुन्छ । यसर्थ, मतदान गरिसकेपछि निवासमै फर्किनुपर्छ । मतदान गर्नुपूर्व औँलामा मसी लगाएर मतपत्र प्राप्त हुन्छ । सो मतपत्रमा निर्वाचन आयोगले दिएको स्वस्तिक छाप लगाई मसी लतपत नहुने गरी पट्याएर बाकसमा खसाल्नुपर्छ । आफूले मतदान गरेको कसैले पनि देख्दैनन् । त्यहाँ सिसी क्यामरा जडान भएको हँुदैन तर मतपत्र भने सबैले देख्ने गरी बाकसमा खसाल्नुपर्छ । यी सबै कार्यको फोटो खिच्न निषेध हुन्छ । यसर्थ, मतदानस्थलमा मतदाता परिचयपत्रको अलावा अन्य अनावश्यक सामग्री साथमा लिएर जानु हुँदैन । मतदानस्थलमा जाँदा आफूलाई मन परेको उम्मेदवार वा राजनैतिक दलको प्रचार हुने लुगा लगाउन वा कुनै प्रकारको सङ्केत गर्न पाइन्न । यसरी हरेक मतदाताले सभ्य नागरिकको परिचय दिन पछि पर्नु हुँदैन ।

मतदान केन्द्रमा पूर्णत सुरक्षा प्रदान गरिएको हुन्छ । त्यहाँ स्वयम्सेवक खटिएका हुन्छन् । साथै, उम्मेदवारका प्रतिनिधि पनि हुन्छन् । निर्वाचनमा खटिएका कर्मचारीसमेत हुने हुँदा आवश्यक सहयोग लिन सकिन्छ । निर्वाचनमा कुन उम्मेदवार र राजनैतिक दल छान्ने भन्ने आप्mनो नैसर्गिक अधिकार हो । यसमा विवेक पु¥याएर मतदान गर्नुपर्छ । मतपत्रमा स्वस्तिक चिह्न प्रयोग गर्दा आप्mनो मत बदर नहुने गरी ध्यान पु¥याएर छाप हान्नुपर्छ । गोप्य मतदान केन्द्रमा हडबड नगरी समय लिनुपर्छ । यसमा कुनै समयसीमा तोकिएको छैन । मतदान गरेपछि वा गर्नुअघि आफन्त वा चिनजानका व्यक्तिसँग मतदानका विषयमा छलफल गर्न सकिन्छ । तर, मेरो मत यस उम्मेदवारमा जान्छ वा यस उम्मेदवारलाई मतदान गरेँ भनी सार्वजनिक रुपमा प्रकट गर्नु पर्दैन । यो भने पनि पुष्टि गर्ने आधार कसैसँग पनि हुँदैन । कारण स्वस्तिक चिह्न प्रयोग गरेको मतपत्र सार्वजनिक गर्न पाइन्न । मतपत्रमा स्वस्तिक चिह्न हानेपछि सोको फोटो खिच्न पनि पाइन्न । यी सबै कुरा आचारसंहिताभित्र पर्दछन्

यहाँनेर एउटा प्रश्न उठ्छ, मतदान किन गर्ने ? सबै मतदान गर्न जाँदैनन्, म पनि नगए के फरक पर्ला ? यो गम्भीर प्रश्न हो । आम मतदाताले संविधान र कानुन एवं असल नागरिकको कर्तव्य भुल्नु हुँदैन । वर्तमान नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता नेपाली जनताको काँधमा सुम्पिएको छ । यो भनेको आप्mनो शासन आफँैद्वारा आफैँलाई गर्ने हो । यस खातिर प्रतिनिधिसभालगायतको निर्वाचन हुन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाका सदस्यहरुको निर्वाचन हुँदैछ । सो प्रतिनिधि सभाबाट प्रधानमन्त्रीको नियुक्तिका लागि मतदान हुन्छ । यसरी मुलुकको शासन सञ्चालनको जिम्मेवारी लिने जनप्रतिनिधिको छनोटमा हामी सबै सहभागी हुनुपर्छ । यो हरेक बालिग नागरिकको कर्तव्य हो ।

निर्वाचनमा हुने फजुल खर्च हुने गरेको छ । यसमा सर्वसाधारण सजग हुनुपर्छ । राजनैतिक दल र उम्मेदवारको गतिविधिले घरभाडा वृद्धि हुन्छ । निर्वाचनको मुखमा अनावश्यक भ्रमण गर्दा यातायातको भाडा दर महङ्गो हुनसक्छ । यस बखत होटलका कोठा, रेष्टुरेन्ट र मोटर भाडा पनि महँगिन्छयसर्थ, आन्तरिक पर्यटनमा निस्किँदा यी कुराको पनि ख्याल गर्नुपर्छ । निर्वाचनको समयमा खाना, खाजा, माछा, मासु, खाद्य सामग्रीको खपत पनि बढ्छ । माग र आपूर्तिको सामञ्जस्यता नमिल्दा केही मूल्य वृद्धि हुन सक्छ । यसर्थ, यस्ता घरायसी खपतका सामानको पनि समयमै जोहो गर्नु बुद्धिमानी हुनेछ । यसबखत तुल, कपडा, ल्फ्रेक्स, पर्चा, पोष्टर, पम्प्लेट कागज, छपाइ, मुद्रण, विज्ञापन, होडिङबोर्डको खपत पनि बढी नै हुन्छ । यसर्थ, निर्वाचनकै मुखमा पर्ने गरी सङ्घसंस्थाले कार्यक्रम नगर्नु नै उचित हुन्छ । कैयौँ सरकारी कार्यक्रमहरु आचारसंहिताको कारण गर्न नपाइने पनि हुन्छ । विशेषगरी, निर्वाचनको समयमा मदिरा, चुरोट, स्थानीय रक्सी, जाँडलगायतका वस्तु पनि बढी नै खपत हुने गरेको छ । सामान्यतः यस्ता वस्तुको सेवन र उपयोग त्याग्नु नै उत्तम हुनेछ ।

अन्त्यमा, आगामी फागुन २१ गते प्रतिनिधिसभामा सदस्यहरुका लागि हुन गइरहेको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोग र सरकारले विशेष पहल गरिरहेको छ । यसमा सघाउनु आम नागरिकको कर्तव्य हो । यथार्थमा निर्वाचनको कार्य आयोग, उम्मेदवार र राजनैतिक दलको लागि मात्रै नभई आम मतदाताका लागि पनि हो । लोकतन्त्रको प्राण नै निर्वाचन हो । यसलाई संरक्षण गर्ने जिम्मेवारी आम मतदाताको भएकाले यस कार्यमा मन, वचन र कर्मले संलग्न रहन सार्वजनिक आह्वान गरिन्छ ।

(लेखक राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ)

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =  

Protected by Spam Master