रक्तचाप र मधुमेहका समस्या धेरै « रिपोर्टर्स नेपाल

खोटाङ, २७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरुआत गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान भएका बिरामीको स्वास्थ्य शिविर आयोजना गरेर निःशुल्क उपचार गर्न नगरपालिकाले स्क्रिनिङ अभियान थालनी गरेको हो ।
आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने स्क्रिनिङ अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेलस्थित नगरपालिकाको सभाहलमा आयोजित स्क्रिनिङ अभियान शुभारम्भ कार्यक्रममा सहभागी भएर स्वास्थ्य परीक्षण गराउनेमध्ये चार जनाको रक्तचाप बढेको र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको जनाइएको छ ।
पिसाबसम्बन्धी समस्या देखिएकालाई मिर्गौला परीक्षण गराउन जिल्ला अस्पताल दिक्तेल जान सल्लाह दिइएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए । “अभियानका क्रममा सङ्कलन भएका तथ्याङ्कको प्रतिवेदन चैत ३ गतेभित्र नगर स्वास्थ्य शाखामा बुझाउन सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ । स्क्रिनिङ अभियान सम्पन्न भएपछि आगामी चैत ५ र ६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेका छौँ”, उनले भने, “नगरपालिकाको अगुवाइमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी हुनेछन् । दिक्तेलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुने शिविरमा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि चाबहिल काठमाडौँले प्राविधिक सहयोग गर्ने भएको छ ।”
नगरपालिकाभित्रका सबै वडामा सञ्चालन हुने अभियानमा राजनीतिक दल, नागरिक समाज, विद्यालय परिवार, कर्मचारी तथा ३० वर्षमाथिका नगरवासीलाई अनिवार्य स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ । नगरपालिकाले सुरु गरेको स्क्रिनिङ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै वडा कार्यालय तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वभर कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएकामा हाल यो दर बढेर ७१ प्रतिशत पुगेको छ । नेपालमा पनि उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोगको प्रकोप तीव्रगतिमा बढ्दै गएको छ ।
यसैबीच, यही माघ २८ देखि फागुन १ गतेसम्म जिल्लाभर पाठेघरको मुखको क्यान्सर नियन्त्रणसम्बन्धी एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने जनाइएको छ ।
गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप प्रदान गरिने जनाइएको छ । एघार वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै खोप लगाउनुपर्ने ७१९ किशोरी रहेको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









