क्यान्सर जोखिम घटाउन पौवादुङमामा किशोरी लक्षित एचपिभी खोप अभियान

क्यान्सर जोखिम घटाउन पौवादुङमामा किशोरी लक्षित एचपिभी खोप अभियान

भोजपुर, २९ माघ । यहाँको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ । किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र रहेका आठ वटा माध्यमिक तथा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ९० जना किशोरीलाई खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार माघ २८, २९ र फागुन १ गतेसम्म तीन दिनसम्म खोप अभियान सञ्चालन हुनेछ । उनले विद्यालयमै पुगेर खोप प्रदान गर्ने व्यवस्था मिलाइएको बताए ।

“गाउँपालिकाका सबै तोकिएका विद्यालयमा पुगेर एचपिभी खोप लगाइनेछ,”उनले भने, “विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीलाई पनि अभियानमा समेटिनेछ ।”विद्यालय बाहिर रहेका किशोरी छुट्न नदिन गाउँपालिकाले घरधुरी सर्वेक्षण सुरु गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत किशोरीको तथ्याङ्क सङ्कलन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

यसले खोप पहुँच नपुग्ने जोखिम न्यूनीकरण हुने विश्वास गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक हो । समयमै खोप नलगाइएमा सङ्क्रमणको जोखिम बढ्ने भएकाले किशोरी अवस्थामै एचपिभी खोप अत्यन्त प्रभावकारी हुने जनाइएको छ । खोपले भविष्यमा हुने क्यान्सरको जोखिम घटाउने चिकित्सकको भनाइ छ ।

नेपाल सरकारले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार देशभर एचपिभी खोप अभियान, भिआइए परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रम सञ्चालन हुँदै आएका छन् । स्थानीय तहको सक्रियताले यी कार्यक्रम प्रभावकारी बन्दै गएका छन् ।

पौवादुङमा गाउँपालिकाले यस अभियानलाई प्राथमिकतामा राख्दै सबै किशोरीलाई खोपको पहुँचमा पु¥याउने लक्ष्य लिएको जनाएको छ । स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन र अभिभावकको सहकार्यमा अभियान सफल बनाउने तयारी गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

स्वास्थ्य शाखाका अनुसार खोप अभियानसँगै पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिनेछ । किशोरी, अभिभावक र शिक्षकलाई लक्षित गरी क्यान्सरको जोखिम, रोकथाम र उपचार विधिबारे जानकारी दिइने योजना छ । गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा किशोरीको स्वास्थ्य सुरक्षा मजबुत बनाउने र दीर्घकालमा महिलामा देखिने क्यान्सरको जोखिम घटाउने विश्वास लिइएको छ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =  

Protected by Spam Master