बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल

म्याग्दी, फागुन १०। शिरानमा छ भिरालो जग्गामा गुजुमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।
विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५–२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरूप स्थानीयवासीले जग्गादान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि अहिले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ ।
बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए । वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्ष अगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो ।
बाह्र रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पताल रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिई निर्माण गरेको अध्यक्ष गर्बुजाले बताए । अस्पताल निर्माण गर्न स्थानीय सात व्यक्तिले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गर्बुजाले बताए। अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् ।
अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण गाउँपालिका–१ दोबाकी मनसरा गर्बुजाले गुनासो गरे । पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक








